सातौंका कीर्तिमानी शिरीष फुर्सदमा


सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेल एक वर्षअघि नै आयोजना भइसकेको थियो । गत २०७२ सालको असोजको अन्तिम साता १९औं राष्ट्रिय पौडी प्रतियोगिता भएको थियो । जसलाई राष्ट्रिय खेलकुद परिषद्ले सातौं राष्ट्रिय खेलकुदको रुपमा रुपान्तरण गरेको थियो । सो प्रतियोगितामा नायक बनेका शिरीष गुरुङ अहिले राजधानीमै त्यतिकै फुर्सदे छन् । १७ वर्षका उदीयमान पौडीबाजलाई पूर्वाञ्चलमा शुक्रबारदेखि शुरु हुने सातौं राष्ट्रिय खेलकुदमा निमन्त्रणासमेत दिइएको छैन । साथै मिति सर्दै एक वर्षपछि हुन लागेको खेलकुदअन्तर्गतको आयोजित भइसकेको पौडीमा राखेको पाँच राष्ट्रिय कीर्तिमान पनि ओझेलमा परेको उनले गुनासो गरे ।

विश्वका ओलम्पिक एसियन जस्ता ठूल्ठूला खेलकुद प्रतियोगिताको चार्म भनेको पौडी नै हो । नेपालको विषयमा पनि यो लागु हुन्छ तर चार्म बनेको पौडीलाई पहिल्यै आयोजना गर्न नहुने शिरीष बताउँछन् । पहिल्यै पौडी आयोजना गरेकोमा उत्साह घटेको भन्दै उनले नेपाल समाचारपत्रलाई बताए– ‘पहिल्यै पौडी प्रतियोगिता गरियो । अहिले पूर्वाञ्चलमा सातौं शुरु भइरहँदा कता कता पौडी खेल नै ओझेल परेझैं लागेको छ । सबै एकैपटक गरेको भए राम्रो हुन्थ्यो । एकैचोटि भएको भए त्यसले खेलाडीलाई उत्साहित पनि बनाउँछ । विश्व खेलकुदमा पनि पौडी नै आकर्षणको खेल बनेको छ ।’

अहिले त्यतिकै बसेका शिरीष जाडोको कारण कुनै अभ्यासमा पनि लागेका छैनन् । नेपालमा हिटिङ सिस्टम ल्याउने भने पनि अहिलेसम्म यसको कुनै पहल गरिएको छैन । शिरीषले बताए– ‘जाडो महिनामा हाम्रो केही पनि हुँदैन । हिटिङ सिस्टम ल्याउने कुरा के भयो थाहा छैन । तर हामीजस्ता खेलाडीले त्यसै बस्नु भनेको आफ्नै क्षमतालाई खतम गर्नु हो । यदि हिटिङ सिस्टम भइदिएको भए सायद १२ महिना नै पौडी हुन्छ । यसले पौडीमा नेपाललाई अन्तर्राष्ट्रिय पदक ल्याउन सहयोग मिल्न सक्छ ।’

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आबद्ध शिरीष अहिलेका लागि सातौं राष्ट्रिय खेलकुदका नायक नै भने पनि हुन्छ । शिरीषले गत वर्ष समापन भएको राष्ट्रिय खेलकुदअन्तर्गतको पौडीमा एक्लैले १६ स्वर्ण हात पारेका थिए । जसमा उनले पाँच नयाँ राष्ट्रिय कीर्तिमानसमेत रचे । कीर्तिमानसँग राम्रो सम्बन्ध रहेको शिरीषको ती पाँच कीर्तिमानमा छोटो दूरी पनि छ र लामो दूरी पनि छ । उनकै सहयोगमा आर्मीले २५ स्वर्ण, १३ रजत र ११ कांस्य जितेर टिम च्याम्पियनसिपको ट्रफी हासिल गरेको थियो । आर्मीले पौडीका विभिन्न सबै विधामा स्वर्ण जित्दा अन्य टोलीका लागि स्वर्ण जित्ने कुनै गुन्जाइस नै भएन।
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको १९औं राष्ट्रिय पौडीमा शिरीषले १५ सय मिटर फ्रिस्टाइलमा १८ मिनेट ४५ः६८ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान राखेका हुन् । उनले दुबईमा एसियन च्याम्पियनसिप २०१२ मा राखेको आफ्नै पुरानो कीर्तिमान १९ मिनेट ०५ः२५ सेकेन्डको समयलाई पछि पारे । त्यस्तै ४ सय मिटर फ्रिस्टाइलमा उनले २०१३ मा काठमाडौंमा भएको दोस्रो एनएसए कपमा राखेको आफ्नै ४ मिनट ४७.३८ सेकेन्डलाई पछि पारेर ४ मिनेट ३६ः७८ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान निर्धारण गरेका हुन् ।

यसै गरी २ सय मिटर व्यक्तिगत मेडलीमा शिरीषले आफ्नै २ मिनेट ३०ः२५ सेकेन्डमा सुधार गर्दै २ मिनेट २७ः०३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान रचे । त्यस्तै ४ सय मिटर व्यक्तिगत मेडलीमा पनि उनले ५ मिनेट ११ः७२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनको पहिलेको कीर्तिमान चौथो एनएसए कप २०१४ मा राखेको ५ मिनेट १५ः३५ सेकेन्डको थियो । उनले १ सय मिटर ब्याकस्ट्रोकमा भने सन् २००१ म पुष्पराज शाहीले १२औं खुला पौडीमा राखेको कीर्तिमानलाई तोडेका छन् । उनले सो दूरी १ मिनेट १२ः०९ सेकेन्डमा पूरा गरेर राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाए । पुष्पले १ मिनेट १३ः३६ सेकेन्डमा सो दूरी पूरा गरेका थिए ।