एमाले युवा नेताको गोली हानी हत्या



यमलाल भुसाल, बुटवल

नेकपा एमाले निकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिनदहाडै गोली हानी हत्या भएको छ। तिवारीलाई देवदह बजारस्थित घरनजिकै अज्ञात समूहले गोली हानेर हत्या गरेको हो।

देब्रे हातको काखीमुनि गोली लागेर घाइते भएका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो। देवदह नगरपालिका ६ खैरेनीबजारका तिवारीलाई मोटरसाइकलमा देवदह नगरपालिका कार्यालय जाँदै गरेको अवस्थामा घरदेखि ३ सय मिटर तल सोमबार दिउँसो करिब ४ बजे गोली प्रहार गरिएको थियो।

रातो पल्सर मोटरसाइकलमा आएका दुई जना व्यक्तिमध्ये पछाडि सवार ट्रइकसुट लगाएको व्यक्तिले गोली हानेर फरार भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो। देवदह–३ वसन्तपुरस्थित इँट्टा उद्योगका सञ्चालकसमेत रहेका तिवारीमाथि यसअघि पनि गोली प्रहार गरिएको थियो। त्यसबेला तिवारी बाँच्न सफल हुनुभएको थियो।

रूपन्देही प्रहरीका अनुसार गोली हान्ने समूहको पहिचान नभएको र खोजी कार्यलाई तीव्रता दिइएको छ। भारतसँग जोडिएका बेलहियालगायतका सबै नाका सिल गरिएको र सम्भावित स्थानमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल पुग्नुभएको छ। युवा संघ जिल्ला शाखा रूपन्देहीले आज मंगलबार लुम्बिनी अञ्चल बन्दको घोषणा गरेको छ। यसैबीच तिवारीको हत्याको विरोधमा बुटबल अशान्त बनेको छ। एमाले समर्थित कार्यकर्ताहरूले सोमबार राति अबेरसम्म सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए।

यसैबीच प्रमुख विपक्षी एमालेले सोमबार एक वक्तव्य जारी गर्दै राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको कायरतापूर्ण हत्याको तीव्र भत्र्सना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरूलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारबाही गर्न जोडदार माग गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले नेकपा एमाले र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको जनाउँदै देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरूको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरूमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण भएको जनाएको छ। आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको एमालेले जनाएको छ।

हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई एमालेले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्