पोर्टो रिकालाई विश्व सुन्दरीको दोस्रो ताज नेपाल सुन्दरी ब्युटी विथ पर्पसको उत्कृष्ट ५ मा


विश्वभरिका सुन्दरता प्रेमीको ध्यान तान्दै यस वर्षको विश्व सुन्दरी मिस वल्र्ड २०१६ को ताज पोर्टो रिकाकी स्टेफनी डलले जितेकी छिन्। अमेरिकाको मेरिल्यान्डमा आइतबार राति सम्पन्न भएको विश्व सुन्दरी प्रतियोगितामा डलले कुल १ सय १६ देशका सुन्दरीहरूलाई पछाडि पार्दै नयाँ विश्व सुन्दरीको ताजलाई आफ्नो बनाएकी हुन्।

५ फिट ८ इन्च अग्ली १९ वर्षीया यी सुन्दरी ६६औं संस्करण्को विश्व सुन्दरीमा आफ्नो नाम उद्घोष भएपछि उत्साहित र अचम्भित हुँदै आँखा चम्काएकी थिइन्। विश्व सुन्दरीको यो ताज पोर्टो रिकाले दोस्रोपटक जितेको हो। उपाधि जितिसकेपछि विश्व सुन्दरीका रूपमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको डलले बताइन्। प्रतियोगिता सन् २०१३ की विश्व सुन्दरी मेगन यङ र कलाकार जेसन कुकले सञ्चालन गरेका थिए।

यस प्रतियोगीतामा डेमिनिकन रिपब्लिककी यारित्जा मिगलिना रेयस रामरिज फस्ट रनर्सअप भइन् भने इन्डोनेसियाकी नतासा मान्युएला सेकेन्ड रनर्सअप भएकी छन्। प्रतियोगितामा केन्याकी एभ्लिन जाम्बी थुङगु र फिलिपिन्सकी क्याट्रियोना ग्रे पनि उत्कृष्ट पाँचमा परेका थिए। प्रतियोगिताअन्तर्गत चीनकी जिङ कोङ टप मोडल, मंगोलियाकी बायर्टसेट्सेग अल्टानजिरेल ट्यालेन्ट फिलिपिन्सकी क्याट्रियोना ग्रेले मल्टिमिडिया अवार्ड, आइल्यान्डकी नतालिया सर्ट स्पोर्ट र इन्डोनेसियाकी नतासा मान्युएला ब्युटी विथ पर्पसका विजेता भए।

नेपालको तर्फबाट मिस वल्र्ड २०१६ मा प्रतिनिधित्व गरेकी मिस नेपाल २०१६ अश्मी श्रेष्ठ ब्युटी विथ पर्पसको उत्कृष्ट ५ भित्र परेकी छिन्। उनले ब्युटी विथ पर्पस प्रोजेक्टअन्तर्गत क्लास रुम एन्ड बियोन्ड शीर्षकमा नेपालको दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षा आवश्यकता र यसमा पहलकदमीबारे आफ्नो प्रस्तुति प्रस्तुत गरेकी थिइन्।