छिमीको म्हेन्दोमाया


म्हेन्दोमाया गायिकाका रूपमा स्थापित गायिका छिमी मम्बाले नयाँ गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। उनले पहिलेझैं यसपटक पनि धादिङ, नुवाकोट र रसुवातिर लोकप्रिय मानिने म्हेन्दो भाका गीतका साथ म्युजिक भिडियोका रूपमा सार्वजनिक गरेकी हुन्।

सचो तबे बक्सरी बोलको यस गीतमा छिमीलाई स्वरमा नायक तथा निर्देशकसमेत रहेका राज किङ वायबाले साथ दिएका छन्। भिडियोमा पनि छिमी र राजले अभिनय गरेका छन्।
म्हेन्दोमाया धादिङ, रसुवा र नुवाकोटमा गाइने लोकप्रिय लोकभाका हो। विशेष गरी यो भाका तामाङ समुदायका चर्चित छ। छिमीले यसअघि पनि यिनै लोकप्रिय भाका गाएर आफूलाई गायनमा स्थापित गरेकी हुन्। मेरो रुचि गायन हो, त्यसमा पनि बढी जसो म्हेन्दो माया गाउने गरेकी छु –फिल्मी अभिनयसँगै गायनमा सक्रिय हुँदै आएकी उनी भन्छिन्।

छिमीले केही नेपाली गीत पनि गाइसकेकी छन्। आफ्नो सुन्दर रूप जस्तै सुरिलो स्वरकी धनी छिमी चलचित्र निर्माणमा पनि रुचि राख्छिन्। यतिखेर चलचित्र निर्माणको तयारीमा जुटिरहेकी छिमीले आफ्नो म्हेन्दोमाया गीत सार्वजनिक गरेकी हुन्। आफ्ना अघिल्लो गीतजस्तै यसलाई पनि दर्शक तथा स्रोताले रुचाउनेछन् भन्ने उनको विश्वास छ।

यो गीतमा सौभाग्य एस. वाइबाको शब्द तथा संगीत रहेको छ भने एरेन्ज कमल सरंगले गरेका छन्। राज किङ वाइबाकै निर्देशन रहेको भिडियोलाई जम्बुलिङ फिल्मले युट्युबमा सार्वजनिक गरेको छ।