साथी साथी सार्वजनिक


धरान, (नेस)। पेसा इन्जिनियर भए पनि पछिल्लो समयमा सांगितीक क्षेत्रमा लागी गरेका गायक सुमन श्रेष्ठ संगमु ले एक कार्यक्रम आयोजना गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

सुमनले पत्रकार गोपाल दाहालद्धारा रचित नयाँ गित साथी साथीको म्युजिक भिडियो धरानमा सार्वजनिक गरेका हुन्। उनले आफ्नो साथी नामक कलेक्सन भिसिडी एल्वमको समेत सार्वजनिक गरेका छन्। वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रूपमा सार्वजनिक गरेका थिए। रसिकले साथीसाथी मिलेर निर्माण गरेको गीत र भिडियोले समाजमा सकारात्मक सन्देश दिएको बताए। त्यस्तै भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेले साथी साथी गीत समाजका लागि उदाहरणीय बनेको बताए। प्रतिष्ठानका प्राज्ञ राम धामीले गीत तथा भिडियोको समिक्षा गर्दै साथीहरू मिलेर अघि बढ्न आग्रह गरे।

गायक सुमनले नै निर्देशन गरेको साथी साथी भिडियामा जुलन कालिकोटे, मणि भुजेल, पुष्कर ताम्राकार, रामनारायण साह, राजेश श्रेष्ठ, राजन खनाल, मोहन तिम्सिना, विराज खनाल, शम्भु थापा मगरलगायतको अभियन रहेको छ। कार्यक्रममा गायक सुमन र नोभा लिम्बुले आफ्नो गीत प्रितिको फूल प्रस्तुत गरे भने हाम्रो डान्स सेन्टरका कलाकारहरूले सुमनकै झ्याई पार्ने सुर र धागो चर्खाको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।