नेपाल समाचारपत्र
काठमाडौं
यरबजारमा देखिएको तीव्र उतारचढावका कारण नेपालको पुँजीबजारका लगानीकर्तामा यतिबेला त्रास फैलिएको छ। ‘शेयरबजार सुनको अण्डा पार्ने कुखुरा हो कि, जुवाको च्याँखे?’ भन्ने दुविधामा लगानीकर्ता रहेको अवस्थामा बजारमा कसरी अगाडि बढ्छ? प्रश्न धेरै लगानीकर्ताहरूको मनमा गढेको छ।
गत साउन १२ गते १ हजार ८ सय ८१ दशमलव ४५ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंसिर ३० गते १ हजार ५ सय ३० दशमलव शून्य ६ अंकमा ओर्लिएको छ। साढे चार महिनाको अवधिमा तीन सयभन्दा बढी घट्न पुगेको छ।
भलै साताको अन्तिम कारोबारमा दोहोरो अंकले नेप्से बढे पनि लगानीकर्ताहरू ढुक्क हुन सकेका छैनन्। बजार निरन्तर ओरालो लाग्नुलाई कतिपयले माओवादी नेतृत्वको सरकारलाई दोष दिए पनि वास्तविकता भने त्यसको फरक रहेको विश्लेषकहरूले बताएका छन्।
पहिलोपटक माओवादी नेतृत्वमा सरकार गठन भएपछि तत्कालीन अर्थमन्त्रीले शेयरबजारलाई जुवाको संज्ञा दिँदै नियन्त्रण गर्न खोजेपछि माओवादी पुँजीबजारमैत्री नभएको परिचय पाएको थियो। यतिबेला पनि शेयरबजार तीव्र गतिमा ओरालो लागेको थियो। लगानीकर्ताहरूका माझ माओवादी शेयर कारोबारमैत्री होइन भन्ने छाप पारेका बेला पुनः माओवादी नेतृत्वको सरकार गठन भएपछि शेयर फेरि ओरालो लाग्न थालेको हो। माओवादी नेतृत्वमा सरकार गठन हुनु र शेयरबजारमा गिरावट हुनु बाघ कराउनु र बाख्रो हराउनुजस्तै भएको विश्लेषकहरू भनाइ छ।
शेयरमा गिरावट आउनु यतिबेला माओवादी कारण कारण नभई बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज उच्च दरमा वृद्धि गरेका कारण शेयरबजार ओरालो लागेको विश्लेषकहरूको दाबी छ। ब्याजदरमा सामान्य हेरफेर हुँदा त शेयरबजारमा उथलपुथल हुन्छ।
यतिबेला बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावको कारण देखाउँदै ३ प्रतिशतसम्म ऋणको ब्याज दर बढाएपछि ऋण खोजेर शेयरमा लगानी गर्नेहरूले धमाधम शेयर बिक्री गरी ऋण तिर्न थालेका कारण शेयरबजार ओरालो लाग्नुको मुख्य कारण रहेको स्रोतको दाबी छ।
नाम उल्लेख गर्ने सर्तमा स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘बजार अझै ओरालो लागेर १ हजार ३ सय अंकको हाराहारीमा पुग्नसक्छ। लगानीकर्ताले यतिबेला शेयर बेचेर एक डेढ महिनापछि सस्तोमा खरिद गरी नाफा कमाउन सक्छन्।’ शेयर बजारका पुराना खेलाडीले अहिले बोनस र हकप्रद शेयरमात्रै हालेर आफ्नो नाफालाई सुरक्षित गर्नेतर्फ लागेका छन्। धेरै लगानीकर्ताले शेयरको नाफालाई घरजग्गामा लगानी गरिरहेको अवस्था छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने उद्देश्यले चुक्ता पुँजी ≈वात्तै वृद्धि गर्ने नीति लिए पनि केही बैंक तथा वित्तीय संस्थाबाहेक धेरैले हकप्रद शेयर जारी गर्दै आफ्नो चुक्ता पुँजी पुर्याउने रणनीतिमा लागेका छन्। हकप्रद र बैंकको ऋण तिर्नका लागि लगानीकर्तालाई रकमको आवश्यकता परिरहेको हुँदा यतिबेला शेयर बिक्री गर्ने क्रमा बढेको छ।
बजारमा मागभन्दा आपूर्ति अर्थात् शेयर खरिद गर्न चाहनेभन्दा बढी गर्न खोज्नेको संख्या बढी भएपछि स्वतः त्यसको मूल्य कम हुने अर्थशास्त्रको सामान्य सिद्धान्तकै कारण नेप्से परिसूचकमा गिरावट आउने अर्को कारण भएको शेयर ब्रोकरहरूले बताएका छन्।
बजामा ब्लु चिप मानिने स्टान्डर्ड र्चाटर बैंक एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंकजस्ता राम्रा र ठूला बैंकले हकप्रद शेयर र राम्रो बोनस शेयर दिएर चुक्ता पुँजी आठ अर्ब रुपियाँ पुर्याउने अपेक्षा लगानीकर्ताको थियो। तर, एभरेस्ट बैंकबाहेकका अरु राम्रा बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) बिक्री गरी चुक्ता पुँजी पुर्याएका कारण लगानीकर्ताहरू निराश बनेको अवस्था छ।
एफपीओले बैंकको स्थितिलाई राम्रो बनाउने भए पनि तत्कालै लगानीको प्रतिफल खोज्ने लगानीकर्ताहरूलाई नाफा प्राप्त गर्न समय लाग्ने भएकाले त्यस्ता लगानीकर्ताले ब्लु चिप मानिएका कम्पनीहरूको शेयर बेचेर अन्यत्र लगानी गरेको अवस्था छ। त्यसो त बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक इन्स्योरेन्स कम्पनी र जलविद्युत् कम्पनीहरू पनि हकप्रद शेयर जारी गरिरहेको अवस्था छ।
शेयर बजारको स्वभाव नै उतारचडाव हुने हो। कम्पनीको अवस्था हेरेर बजार तलमाथि हुँदै जान्छ। तर, एक साताभित्रै शेयरको मूल्य ३०–४० अंकले तलमाथि हुनु भनेको नै शेयरका ठूला खेलाडीको चलखेल हो भन्ने स्पष्ट देखिएको स्रोतको भनाइ छ। शेयर ब्रोकर र ठूला लगानीकर्ताले आफूलाई फाइदा हुने गरी शेयरसम्बन्धी सकारात्मक वा नकरात्मक खबर फैलाउँदै आएका छन्। त्यसैलाई आधार बनाएर नयाँ लगानीकर्तालाई अलमलमा पार्ने काम हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था र उसले गर्ने नाफाका आधारमा शेयर मूल्य बढ्ने घट्ने भए पनि बजारमा त्यो भइरहेको छैन। बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेका ब्यालेन्स सिटले त्यो कुरालाई पुष्टि गर्दछ। नाफा कम हुने कम्पनीको शेयर बढी र धेरै हुने कम्पनीको कम भएका पाइएको छ।
प्रतिक्रिया