(पविता मुडभरी पुडासैनी) घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज भन्ने मूल नाराका साथ महिला हिंसाविरुद्ध १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइन्छ । सन् १९९१ देखि विश्वभर यो अभियान शुरु भएको हो । महिलामाथि विभेद र हिंसा गर्ने कुनै पनि मुलुकमा शान्ति र विकासले गति लिन नसक्ने भन्दै संयुक्त राष्ट्रसंघले लैंगिक हिंसालाई मानवताविरुद्धको अपराध मानेको छ र विश्व शान्ति र विकासकै अवरोध ठानेको छ । तर बर्सेनि हुने महिला हिंसाविरुद्धका अभियान, कार्यक्रम, परियोजना, गतिविधि तथा सक्रियतालाई चुनौती दिँदै विश्वमा हरेक तीन महिलामध्ये एक महिला शारीरिक, मानसिक हिंसामा पर्दछन् । नेपाल सरकारले पनि महिला हिंसालाई मानवअधिकारको हनन मान्दै बर्सेनि अभियान चलाए पनि २५ प्रतिशत महिला हिंसामा पर्ने गरेको तथ्यांक छ । २०७२⁄७३ मा मात्र झन्डै हजारवटा घरेलु हिंसाका घटना सार्वजनिक भएका छन् । आफ्नै अभिभावक, श्रीमान् तथा समाजबाट महिलाहरूमाथि हिंसा हुने गरेको छ ।
जनचेतना तथा आर्थिक सबलीकरणका कारण हिंसाविरुद्ध प्रतिरोधी भावना बढेको भए पनि हिंसा अन्त्य गर्ने प्रभावकारी उपायहरूको अवलम्बन गर्न सकिएको छैन । दण्डहीनता, कानुनी उपचारमा ढिलासुस्ती तथा पुरातन यथास्थितिवादी मान्यता र अवस्था रहेसम्म हिंसा हट्न सक्दैन । हिंसाविरोधी यो विश्व अभियानले धर्मका नाउँमा महिलालाई कठोर बन्धनमा राख्ने कतिपय मुलुकहरूलाई महिलाप्रति नरम नीति अंगाल्न दबाब पर्नेछ । शान्ति र समुन्नतिका लागि हिंसारहित समाज निर्माण गर्न प्रेरित गर्नेछ ।
शहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्र र जहाँ हिंसाविरुद्ध राज्यका निकायहरूको प्रभावकारी उपस्थिति छैन त्यहाँ लैंगिक हिंसा अझ डरलाग्दो छ । शान्ति, विकास र महिलाको मानवअधिकारको रक्षार्थसमेत हिंसाविरुद्धको अभियान आवश्यक छ तर हिंसाविरोधी अभियन्ताहरूले बुझ्नुपर्छ कि यही समाज, संस्कार र सोच राखेर महिला हिंसा अन्त्य सम्भव हुँदैन । जातीय, वर्गीय रुपमा समेत महिलामाथि हिंसा हुने गरेको छ । व्यक्तिका आवेग र उत्पीडनबाट मात्र नभई प्रथा र परम्पराबाट समेत महिलाहरू हिंसापीडित छन् । छाउपडी प्रथाका कारण र पुरुषले मादक पदार्थ सेवन गरेर महिलामाथि हिंसा भएका घटना थुप्रै छन् । विधवा प्रथाका नाउँमा महिलामाथिको हिंसा अत्यन्त क्रुर छ तर यसप्रति हामी मौन छौँ ।
महिलाको स्वतन्त्र मानवीय अस्तित्वमाथि धावा बोल्ने विधवा प्रथा नहटाएसम्म महिला हिंसाको दारुण क्रन्दन र चित्कारले आममहिलालाई डसी नै रहनेछ । लैंगिक हिंसाले मानव गर्भ छेडिसकेको छ । गर्भभित्रै महिलाहरू हिंसा र हत्याको सिकार हुने विडम्बनापूर्ण अवस्थाको कारक हाम्रो सामाजिक परम्परा र संस्कार नै हो । छोरीले विवाहपछि अर्काको घर जाने हाम्रो सामाजिक परम्पराले सन्तानका रुपमा छोरीको आवश्यकता र महत्वलाई नै गौण तुल्याइदिएको छ । सन्तानका रुपमा छोरा नै चाहिने तर छोरी नभए पनि हुने जुन सोच र संस्कार समाजमा स्थापित छ यहीँबाट महिला विभेद र हिंसाको जग शुरु भएको छ ।
विश्वका अधिकांश मुलुकमा महिलालाई सम्पत्तिको मालिक होइन, संरक्षकका रुपमा मात्र स्वीकारिन्छ । घरमूलीका रुपमा होइन, सहयोगीका रुपमा मात्र हेरिन्छ । समाजको अगुवाका रुपमा होइन, पछुवाका रुपमा मात्र तिनलाई प्रयोग गरिन्छ । अझ राजनीतिक क्षेत्रमा त विश्वमै महिलाको संलग्नता र सक्रियता नगन्य देखिन्छ । नेतृत्वमा तिनको चयन औँलामा गन्न नसकिने अवस्थामा छ । शक्ति सम्पन्न मुलुकमा समेत लामो राजनीतिक कालखण्डसम्म महिलाले नेतृत्व हत्याउन नसकेको दुःखद अवस्था छ । हाल सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सामाजिक अभियन्ताका कारण महिलामाथि हुने हिंसा, दमन र आक्रमणका घटना तत्काल बाहिर आउँछन् । तर हिंसापीडित यस्ता महिलाले झन्झटिलो कानुनी प्रक्रिया र पितृवादी सामाजिक संरचनाका कारण सजिलै न्याय प्राप्त गर्न सक्ने अवस्था छैन ।
महिला हिंसा, विभेद र उत्पीडन विश्वकै महिलाको साझा समस्या बनेका छन् । हिंसा, विभेद र उत्पीडनविरुद्ध विश्वमा चाल्नुपर्ने अनगिन्ती कार्यप्रति हामी मौन छौँ । महिलालाई हिंसाविरुद्ध उत्रन उचाल्ने र हिंसाका घटना सार्वजनिक गर्ने कार्यमा मात्र हिंसाविरोधी अभियान सीमित हुनुहँुदैन । तराईमा दाइजो र बोक्सी प्रथाका नाउँमा महिलामाथि चरम हिंसा छ तर त्यहाँका नेता–नेतृहरू नै यसप्रति मौन देखिएका छन् । हिंसाविरुद्ध उत्रँदा परिवारबाट विमुख, समाजबाट निन्दित र राज्यबाट उपेक्षाबाहेक केही हात नलाग्ने अवस्था छ ।
हिंसाबाट छुट्कारा पाउन सम्बन्धविच्छेद गर्ने महिलाका पीडा उत्तिकै छन् । सम्बन्धविच्छेदपछि पुरुषले तुरुन्त अर्को विवाह गर्छ र आफ्नो घरबास र व्यवस्थाको जोहो कस्छ, तर महिलाका हकमा दोस्रो विवाह कुनै व्यक्ति वा समाजले पचाइहाल्दैन । दोस्रो विवाहपछि पनि बाबु सन्तानका नजरमा सम्मानका पात्र बन्दछ तर आमा पराई र निन्दित बन्न पुग्छे । कुनै सन्तानले आमासँग बस्न चाहेमा पनि आफ्नै नामबाट पहिचान गराउने कानुनी हक र हैसियत आमाको हँुदैन । न त त्यस्ता बाबु छाडेर आमासँग बस्ने सन्तानले आफूलाई सम्पन्न, सम्मानित र सुरक्षित महसुस गर्न सक्छ । हुन त सन्तानका सृष्टिकर्ता, संरक्षक र पालक आमा हुन् । तर समाज र कानुनले पहिचानका हकदार बाबुलाई बनाएको छ ।
घर शान्त भए समाज र समाज शान्त भए विश्व शान्त हुने हो । यसका लागि महिलाको सम्मान र सहभागिता सबैतिर समान हुनै पर्छ । लैंगिक समानता नै विश्व शान्तिका आधार भएकाले समानताका पक्षमा चाल्नुपर्ने कदमको पहिचान र द्रुतत्तर कार्यान्वयन हुनुपर्छ । जुन मुलुकमा लैंगिक समानता छ त्यहाँ शान्ति छ, जुन मुलुकमा तुलनात्मकरुपमा लैंगिक हिंसा कम छ त्यहाँ विकास र समुन्नति बढी भएको हामीले देख्दै र सुन्दै आएका छौँ । अतः विविध धर्म–संस्कार र परम्परामा अडिएको विश्व लैँगिक समानता र हिंसारहित समाजको निर्माणका लागि अभियानमा जुटेको छ । विश्वव्यापी चलिरहेको हिंसाविरोधी यस अभियानले हिंसा केलाउने र यसविरुद्ध जनचेतना जगाउने मात्र नभई हिंसाका कारण र कारक पहिल्याई लैंगिक हिंसा हुनै नदिने नवसमाज निर्माणतर्फ केन्द्रित हुनु जरुरी छ ।
प्रतिक्रिया