सिन्धुली अस्पताल १ सय शैय्या बनाउने तयारी



नवीन श्रेष्ठ, सिन्धुली
अस्पताल सिन्धुलीलाई १ सय शैय्या सञ्चालन गर्ने मास्टर प्लान तयारी भएको छ। अस्पताल सञ्चालनमा रहेको भवनसहित बाँकी रहेको खाली जग्गामा आधुनिक १ सय बेड सञ्चालन गर्न पुग्ने भौतिक संरचनासहितको मास्टर प्लान तयारी गरी काम शुरू भएको अस्पताल विकास समितिका अध्यक्ष विनोदकुमार खड्काले जानकारी दिनुभयो।

भवन निर्माणका लागि भवन डिभिजन कार्यालयमा अन्तिम डिजाइन तयारी भइरहेकाले यसै आर्थिक वर्षको अन्त्यसम्मा टेन्डरबाट निर्माण कार्य शुरू हुने र निर्माण सम्पन्न हुन ३ वर्षदेखि ५ वर्षसम्म लाग्ने अध्यक्ष खड्काले जानकारी दिनुभयो। अस्पतालले अबदेखि आधुनिक डिजिटल एक्स–रे मेसिनबाट दक्ष प्राविधिकहरूद्वारा एक्स–रे सेवा सञ्चालन गरेको समेत जानकारी दिनुभयो।

सामान्य प्रविधिबाट ल्याब टेस्ट गर्दै आइरहेकाले अबदेखि आधुनिक उपकरण एलाइजा, कुल्टर, सोडियम, पोटासियम, बायो क्यामेस्ट्री एनालाइजर मेसिनद्वारा दक्ष प्राविधिहरूबाट थाइरोइड, ब्लड कल्चर, युरिन कल्चरलगायत अन्य कल्चर टेस्ट सेवा सञ्चालनमा आएको समेत जानकारी दिनुभयो। यस्तो ल्याब टेस्ट सिन्धुलीको कुनै पनि प्राइभेट क्लिनिक तथा अस्पतालमा नभएको, काठमाडौंको ठूला अस्पतालमा मात्र भएको समेत दाबी गर्नुभयो।

जिल्ला अस्पतालले सेवाग्राहीलाई सर्वसुलभ मूल्यमा औषधिहरू उपलब्ध गराउन अस्पतालले नै फार्मेसी सञ्चालन गरेको र फार्मेसीमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिएको समेत जानकारी दिनुभयो। अब जिल्ला अस्पतालमा कम्प्युटर प्रविधिमार्फत् बिलिङ हुने व्यवस्था गरेको छ।
जिल्ला अस्पतालमा आमा सुरक्षा कार्यक्रमको साथमा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डनको नेतृत्वमा १० जना पाठेघरसम्बन्धी रोगको समस्याको सफल शल्यक्रिया भइसकेको समेत जानकारी दिनुभयो। अतिरिक्त आर्थिक अभाव हुँदाहुँदै पनि अस्पतालमा उपचार गर्न आउने ६० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई ५० प्रतिशत र ७० वर्षमाथिका वृद्धवृद्धालाई ओपीडी कार्ड शुल्कबाहेक पूर्ण छुट दिने व्यवस्थासमेत गरेको छ। जिल्ला अस्पताललाई देशकै नमुना अस्पताल बनाउन लागिपरेको समेत अध्यक्ष खड्काले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतमले दक्ष जनशक्ति र पर्याप्त स्रोत साधन नहुँदा चाहेको अनुसार सेवा दिन नसकेको बताउनुभयो। आमा सुरक्षा कार्यक्रममा प्रसूति सेवाका लागि अप्रेसन सेवासमेत सञ्चालन भए पनि बिरामी बेहोस बनाउने मेसिन नहुँदा जोखिम मोलेर नै सेवा दिनुपरेको समेत निमित्त मे.सु गौतमले जानकारी दिनुभयो।

पयाप्त स्रोतसाधनको अभावमा पनि हालसम्म १० जनाको पाठेघरको अप्रेसन गरिसकेको र आगामी दिनमा १ सयभन्दा बढी पाठेघर खसेका महिलाको शल्यक्रिया गर्ने योजना रहेको समेत निमित्त मे.सु गौतमले जानकारी दिनुभयो।
जिल्ला अस्पताल सिन्धुलीमा ८ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि हाल २ जना स्थायी र १ जना करारमा रहेको छ। विशेषज्ञ डाक्टरहरू सुविधा सम्पन्न शहरमा मात्र बस्ने भएकाले दरबन्दीअनुसार विशेषज्ञ डाक्टर ल्याउन नसकेको अस्पताल विकास समितिका अध्यक्ष विनोद खड्काले जानकारी दिनुभयो।

जिल्लाको सर्वसाधरणलाई सेवा पुर्याउन दरबन्दीअनुसारको विशेषज्ञ डाक्टर ल्याउन पहल भए पनि जिल्लामा राजनीतिक खिचातानी र विशेषज्ञ डाक्टर ग्रामीण क्षेत्रमा सेवा दिन नचाहने भएकाले ल्याउन नसकेको बताउनुभयो। जिल्ला अस्पतालमा मेडिकल अधिकृत ५ जनाको दरबन्दी भए पनि हालसम्म कुनै पनि मेडिकल अधिकृत डाक्टर जनस्वास्थ्य मन्त्रालयले नपठाएकाले करारमा ६ जना मेडिकल अधिकृत डाक्टरहरूबाट सेवा सञ्चालन गरिरहेको समेत अध्यक्ष खड्काले जानकारी दिनुभयो।

सिन्धुली अस्पताललाई १ सय शैय्या सञ्चालन गर्ने मास्टर प्लान तयारी गरी संरचना निर्माण गर्न जग्गा अभाव हुने भएको छ। सिन्धुली अस्पतालको नाममा १ विघा १९ कठ्ठा जग्गा भए पनि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सामुदायिक आँखा अस्पतालले २ कठ्ठा १० धुर र जिल्ला जनस्वास्थ्य कार्यालयले ७ कठ्ठा प्रयोग गरेपछि जिल्ला अस्पताललाई जग्गा अभाव भएको हो।

हाल अस्पताल सञ्चालन गरेको भवन नयाँ भौतिक संरचना निर्माणका लागि भत्काउनुपर्ने अवस्थामा अस्पताल सञ्चालन गर्ने भौतिक संरचना नभएकाले समस्या पैदा भएको अस्पताल विकास समितिका अध्यक्ष विनोद खड्काले जानकारी दिनुभयो। अस्पतालको जग्गा भए पनि यसअघिका अस्पताल विकास समितिले निर्णय गरेर अन्य संस्थालाई संरचना बनाउन दिएकाले अहिले समस्या परेको अध्यक्ष खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्