केन्जुमालाई प्रेमध्वजको साथ

0
Shares

रश्मी थापा

ख्यातिप्राप्त गायक तथा संगीतसाधक प्रेमध्वज प्रधानको करिब एक दशकपछि गायनमा पुनरागमन भएको छ। घुम्तीमा नआऊ है गायक प्रधानले ती आँखामा को छ भन बोलको गीतमार्फत गायनमा पुनरागमन गरेका हुन्। सरल शैलीको यो गीत गोल्डेन भ्वाइसका धनी प्रेमध्वजले गाएसँगै चर्चा त पायो नै, सँगसँगै उनका साथ गीत गाउने अवसर पाएको महिला स्वरले पनि निकै तारिफ पायो। तारिफ यस कारण पनि कि उनले गायक प्रेमध्वज प्रधानलाई गायनमा कमब्याक गराइन्। उनको स्वरको तारिफ त छँदै छ। पर लैजाऊ गीतहरू गायक प्रधानलाई फेरि गीत गायनका क्षेत्रमा फर्काउने हिम्मतवाली गायिका हुन पूर्वी मोरङकी केन्जुमा सुब्बा।

पूर्वी मोरङमा जन्मे पनि पढाइलेखाइ काठमाडौंमा गरेकी उनले स्कुलमा हुँदा खेरी पनि नाच्ने गाउने भने गरेकी थिइनन् रे। ‘मलाई स्कुल पढ्ने बेला खेलकुदमा रुचि थियो। ‘क्लासमा अरु साथीहरू हार्मोनियम बजाएर बस्दा म भलिबल खेल्ने गर्थें उनले सुनाइन् ‘एसएलसी दिनुभन्दा अघिसम्म पनि मलाई संगीतप्रति खास रुचि थिएन। एसएलसी सकिएपछि भने चाहिँ खाली समयमा के गर्ने भन्ने सोच हुन्थ्यो।

त्यही बेला साथीहरूसँगै गीत गाउन प्राक्टिस गरेँ। एउटा गीत पनि रेकर्ड गराएँ र केही समयपछि ७ ओटा पप गीत समेटेर वन डे नामक एल्बम निकालेँ। त्यति बेला हिपहप शैलीको गीतको मार्केट थियो। त्यसमा समावेश सुनसुन ब्वाई बोलको हिपहिप गीतले विषेश चर्चा पायो मिडियाहरूमा पनि स्थान पायो। उनले थपिन् ‘त्यसपछिको दिनहरूमा अरुको एल्बमहरूमा पनि धेरै गीत गाएँ, आफ्नोभन्दा पनि अरुको एल्बममा गाएको गीत धेरै छन मेरो।

पप गायनबाट संगीतमा पाइला राखेकी उनले हालसम्म पप, लोकपप, आधुनिक, फिल्मी, राष्ट्रिय गीत तथा गजलमा गरी करिब ६० गीत तथा गजलमा स्वर दिइसकेकी छिन्। आफ्नो यी गीतमध्ये आफूलाई केन्जुमा भनेर दर्शकमाझ चिनाउने गीतको श्रेय चाहिँ ३ वर्ष पहिले निकालेको मेरो यात्रा नामक एल्बममा समावेश शिरफूल बोलको गीतलाई दिन्छिन् उनी। ‘मैले विभिन्न गीतहरू गाए पनि शिरफूल बोलको गीतले भने दर्शकमाझ चिनिने दायरा ठूलो पारिदियो वर्षा र पल शाहले खेलेको यस गीतको भिडियो पनि राम्रो बनेको थियो। यसै क्रममा मलाई आफूले गरिरहेको गीतभन्दा अलि फरक किसिमको गीत गरौँ भन्ने सोच थियो।

कुनै चर्चित गायकको गीतलाई कभर सङ बनाएर गाउँ भन्ने विचार पनि थियो, केन्जुमाले भनिन् ‘यो सोच सुनेर निर्देशक एवम् मेरो गीतको रचनाकार डब्बु क्षेत्रीले किन अरुको गीत गाउनु? बरु गर्ने नै भए नयाँ आफ्नै गीत गर्नुपर्छ भन्नुभयो। उहाँले आफ्नो गीत देखउनुभयो। शब्द हेर्दा सरल र नयाँ किसिमको लाग्यो जुन मलाई निकै मन पर्यो। अनि यही गीत गर्ने विचार गरेँ संगीतकार जुगल डंगोलले संगीत गर्ने कुरा भएपछि मेल भ्वाइस कस्को राख्ने भन्ने कुरा चल्यो। जुगलजीकै सल्लाहअनुसार प्रेमध्वज दाइसँग गाउने कुरा पनि टुंगो लाग्यो। प्रेमध्वज दाइ पनि बागबजार बस्ने मरो अफिस पनि पुतलीसडक भएकाले बेलाबेला भेटघाट भइरहन्थ्यो। मैले उहाँसँग गीतको प्रस्ताव राखेँ, उहाँले पनि सहजै स्वीकार गर्नुभयो। दाइले लगभग १० वर्ष भयो गीत नगाउनुभएको। तर यो गीतको लागि सहजै तयार हुनुभयो यो गीत रिलिज भएपछि निकै चर्चा पनि पायो।

केन्जुमाले सुनाइन् ‘धेरैले त्यस्तो ठूलो गायकसँग गीत गाउँदाको अनुभव कस्तो र्यो भन्ने जिज्ञासा गरे। प्रेमध्वज दाइको पुस्ता भनेको त्यस्तो पुस्ता हो जसको गीत सुनेर हाम्रो पुस्ता हुर्किएको हो। त्यस्तो व्यक्तित्वसँग काम गर्न पाउनु ठूलो भाग्यको कुरा हो। तर मैले उहाँसँग गीत गाउँदा आफू यति ठूलो गायकसँग गीत गाउँदै छु भनेर त्यस्तो केही पनि अफ्ठेरो महसुस भने गरिनँ। त्यस्तो सोचाइ नै आएन। गीत गाउँदा निकै रमाइलो महसुस गरेँ। दाइसँग नै गीत गाउँछु भनेर मैले सोच नै राखेर हिँडेको त थिइनँ तर समयले उहाँसँग पनि गीत गाउने मौका जुराइदियो। ठेगाना, सुनखानी, सहादत, वर्ड कप इन नेपालजस्ता नेपाली फिल्म र ई कैसन बौछारी नामक भोजपुरी फिल्ममा गीत गाएकी उनी नेपाली लोक शब्द, लय र नेपाली लोकबाजामा आधुनिक बाजा समायोजन गरी बनाइएको संगीतमा गीत गाउन रुचाउँछिन्। ‘खासमा मलाई लोक शब्द संकलन गरेर त्यसमा टिपिकल नेपाली बाजा र गीटारको फ्युजन भएको म्युजिकमा गीत गाउन मन पर्छ।

नेपालीपन पनि झल्कने अनि मोर्डन फ्लेभर पनि आउने ट्युन समातेर गीत गाउँदा आनन्द महसुस गर्छु, केञ्जुमाले सुनाइन् ‘मेरो चाहना भनेको लोकलयका गीतहरूलाई प्राथमिकतामा राखेर गाउनु पनि हो। किनभने हामीले गाएको गीत हामीभन्दा पछिल्लो पुस्ताले सुन्छन् र उनीहरूको लागि हाम्रो गीतसंगीत र संस्कृति भनेको यस्तो हो भनेर चिनाउनका लागि पनि यस्ता गीतहरू निकै उपयोगी हुन्छन्। उनीहरूलाई पनि गर्व गर्ने ठाउँ रहन्छ।

केही समयको अन्तरालमा फेरी अर्को एल्बमको तयारीमा रहेकी उनी शुरूको एल्बम गरेपछि पढाइ र घरपरिवारमा व्यस्त भएकाले आफ्नै एल्बम गर्न धेरै समय लाग्ने भएकाले पनि अरुको तयारी गीतहरू गाए पनि लगातार आफ्नै एल्बम गर्न भने नभ्याएको दाबी गर्छिन्। ‘संगीतको अनौपचारिक ज्ञानको आधारमा गीत गाएको थिएँ। संगीत भनेको साधना पनि हो। कला भनेको अहिले सिकेर अहिले नै आइहाल्ने चमत्कारी वस्तु होइन। आफूमा पनि भित्रैबाट एक खालको कला हुनुपर्छ जुन मानिसको गुण पनि हो। मैले औपचारिक रूपमा नै संगीत सिकेको छैन, तर यसको बारेमा ज्ञानहरू लिइरहेको थिएँ लिइरहेको हुन्छु। अझ नयाँ कुराहरू बुझ्दै छु उनको भनाइ थियो। पुतलीसडकमा आफ्नै स्टुडियो सञ्चालन गर्दै आएकी उनी स्टुडियोसँगै आफ्नो गीतसंगीतको यात्रालाई पनि निरन्तरता दिने सोचाइमा छिन्। ‘अहिले गीतसंगीतको क्षेत्रमा धेरै मानिसहरूको लगाब देखिएको छ।

मेरो आफ्नै स्टुडियो भएकाले गर्दा कुनै न कुनै रुपमा गीत संगीतसँग जोडिएर नै रहन्छु। पहिलेको तुलनामा अहिले गीतसंगीतमा लाग्न कलाकारहरूलाई निकै सजिलो छ। म आफू पनि महिला भएकाले अझ महिलाहरू यस क्षेत्रमा आउनुपर्छ भन्ने चाहन्छु उनी भन्छिन् ‘यहाँ मात्र होइन, अन्य विभिन्न क्षेत्रमा पनि महिलाहरू सक्षम भएर काम गरेको देख्दा निकै खुसी हुने मान्छे हुँ म । हाम्रा दिदी आमाहरूले जुन किसिमले एउटा सामान्य मानिस भएर जीवन बिताउनुभयो, त्योभन्दा बेग्लै किसिमले आफू नै एक्टिभ भएर जिन्दगी अघि बढाउनुपर्छ। हुन त मानिसले म यो नै गर्छु भनेर त पहिले नै सोचेको हुँदैन, मलाई पनि कलेज लाइफसम्म यही नै बन्छु भन्ने विचार थिएन। तर केही न केही गरेर नाम कमाउछु भन्ने चाहिँ थियो त्यसैले संगीतलाई निरन्तरता दिएको हुँ।