शाहरुख र सलमान अब सँगै !


सलमान खान तथा साहरुख खानका प्रशंसक दुवै जनालाई एकै फिल्ममा देख्न चाहन्छन् नै। तर, निकै लामो समयदेखि उनीहरुलाई सँगै स्क्रिनमा देखिएको छैन। भारतीय सञ्चारमाध्यमको एउटा समाचारलाई पत्याउने हो भने अब उनीहरुको दोस्ती फेरि राम्रो हुनेछ। पछिल्लो केही दिनयता उनीहरुबीच कुराकानीको सिलसिला पनि बढ्दै गइरहेको समाचारमा दाबी गरिएको छ।

हालै भएको एक पुरस्कार वितरण समारोहमा शाहरुखले यदि कसैले राम्रो फिल्मको प्रस्ताव ल्याए आफूहरु सँगै फिल्म खेल्ने विश्वास दिलाएका छन्। सलमानले पनि शाहरुखको कुरामा हो मा हो मिलाउँदै उस्तै प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ। दुवै जनाको सँगै काम गर्ने इच्छा देखेर अब बलिउडका ठूला ब्यानरले उनीहरुसँगै काम गर्ने सम्भावना पनि ठूलो भएको समाचारमा चर्चा गरिएको छ।

सलमान र शाहरुखले करण अर्जुन, कुछ कुछ होता हे, हम तुम्हारे हे सनम जस्ता फिल्ममा एकसाथ काम गरेका थिए। पछि उनीहरुबीच असमझदारी भएपछि भने सम्पर्क र सम्बन्ध टुटेको थियो। त्यसैले लामो समयदेखि उनीहरुले एकसाथ स्क्रिन शेयर गरेका छैनन्।