सुनचाँदी धितो कर्जा घट्यो


काठमाडौं, (नेस)

पछिल्लो समयमा सुनचाँदीको मूल्य लगातार रुपमा ओरालो लाग्दै गएकाले यस क्षेत्रमा हुने बैंक तथा वित्तीय संस्थाहरूको लगानी पनि घट्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो राखेर २८ अर्ब २८ करोड रुपियाँ कर्जा लगानी गरेका छन्।

गत असार मसान्तसम्म यस्तो कर्जा बढेर ३० अर्ब ६४ करोड रुपियाँ पुगेको थियो। त्यस्तै २०७२ असोज मसान्तसम्ममा ३१ अर्ब ३७ करोड रुपियाँ कर्जा सुनचाँदीको धितोमा प्रवाह भएको थियो। यस वर्ष सुनचाँदी धितो राखेर दिने कर्जा २ अर्ब रुपियाँले घटेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षदेखि नै सुनचाँदीको भाउ लगातार अस्थिर बन्दै गएको छ। यसरी अस्थिर बनेको सुनको भाउ कहिले ह्वात्तै बढ्ने त कहिले घट्ने गर्दै उतारचडाव भइरहेकाले बैंक तथा वित्तीय संस्थाहरूले पनि यस्तो कर्जा लगानी घटाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकहरूले सुन धितोमा राखी कर्जा प्रवाह गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गर्ने गर्छन्। बजारमा सुनको मूल्य घटबढ भइरहँदा मूल्यांकन समेत कम हुने भएकाले यस क्षेत्रमा बैंकहरूको कर्जा लगानी कम भएको राष्ट्र बैंकले जनाएको छ। यतिबेला नेपाली बजारमा सुनको भाउ घट्ने र बढ्ने प्रक्रिया जारीे छ। सुनचाँदी धितो राखेर अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आए पनि सुनको भाउमा आएको गिरावटका कारण यसतर्फको लगानी पनि विस्तारै घटाउँदै लगेका छन्।

पहिले सरकारी स्वामित्वका बैंकहरू नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले मात्र यस्तो कर्जा दिँदै आएका थिए। तर पछिल्लो समयमा बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धाका कारण निजी क्षेत्रका बैंकहरूले पनि यस क्षेत्रमा लगानी गर्न थालेका हुन्।

सस्तो ब्याजदर तथा सहजै रुपमा पाइने भएका कारण सुनचाँदी धितोमा अधिकांशले कर्जा लिने गरेका छन्। सुन धितो राखेर कर्जा लिँदा बैंकहरूले बजार मूल्यको ५० देखि ७० प्रतिशत रकम दिने गरेकाले पनि यस्तो कर्जामा आकर्षण बढेको थियो। तर, पछिल्लो समयमा बजारमा सुनको भाउमा आएको गिरावटका कारण यस्तो कर्जा प्रवाह गर्न बैंहरूलेले चासो नदेखाएका कारण पनि यसतर्फको कर्जा प्रवाहमा कमी आएको हो। यस्तो कर्जामा लाग्ने ब्याज पनि अन्य ऋणको तुलनामा सस्तो हुन्छ।

बैंकहरूले पनि सुनचाँदी धितो राखी सजिलै कर्जा उपलब्ध गराउँछन्। बैंकहरूका लागि पनि अन्य क्षेत्रमा दिइने कर्जाभन्दा यस क्षेत्रतर्फको कर्जा लगानीमा कम जोखिम हने भएकाले पनि बैंकहरूले सजिलै कर्जा दिने गर्छन्। सुनको मुल्य र उपलब्ध गराउने कर्जा बीचको मार्जिन ३० देखि ४० प्रतिशतसम्म फरक हुने भएकाले बैंकको लागि यो कर्जा जोखिम कम हुने गर्छ।