हालैको दिन राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा साँझ छिप्पिँदै गएसँगै सजिसजाउ र्याम्पमा देखिएको दृश्य कुनै सांस्कृतिक कार्निभलभन्दा फरक भएन। तुलना गर्नेहरुले त अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका नेसनल कस्ट्युम राउन्डलाई प्रत्यक्षरूपमा अनुभव गर्न पाएको अनुभूति पनि पोखे। कारण थियो विश्वका ४१ राष्ट्रका सांस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदा र संस्कृतिको गरिमामय चिनारीलाई प्रतिविम्बित गर्ने पहिरन शैलीको सानदार र रोमाञ्चक प्रस्तुति। प्रत्येक सिर्जनामा सम्बन्धित डिजाइनरको मिहेनत, कल्पनाशीलता, सिर्जनात्मक सोचको सुन्दर अभिव्यक्तिलाई अवलोकन गर्ने मौका जो थियो।
विश्वको कुनै राष्ट्रको मौलिक सांगीतिक पक्षलाई प्रतिनिधित्व गर्ने संगीत पृष्ठभूमिमा बजेसँगै पालैपालो मोडलहरु संगीतको धुनमा आफ्नो चाल मिलाउँदै आफूले पहिरेको सम्बन्धित राष्ट्रको मौलिकता, सांस्कृतिक एवं ऐतिहासिक गौरवलाई प्रतिम्बित पहिरनलाई आकर्षक ढंगबाट प्रस्तुत गर्दै गए। त्यस चरणमा नेपाल, भारत, चीनदेखि जापान, दक्षिण कोरिया, म्यानमार, थाइल्यान्ड हुँदै अमेरिका, बेलायत, फ्रान्स, पानामा, ब्राजिल, भेनेजुएला, दक्षिण अफ्रिकासम्मको यात्रा तय गर्ने क्रममा विश्वका ४१ राष्ट्रको सम्पदा र संस्कृतिको अभ”तप”र्व नम”नासित साक्षात्कार गर्ने अवसर त्यहाँ थियो। नमुना कलेज अफ फेसन टेक्नोलोजीमा फेसन डिजाइनिङमा स्नातकको पढाइमा अध्ययनरत ११औं ब्याचका ४१ जना विद्यार्थीहरुको अन्तिम परीक्षाको महत्त्वपूर्ण पाटोका रूपमा प्रस्तुत विद्यार्थी स्वयंले आयोजना एवं व्यवस्थापन गरेको ग्राजुएसन फेसन शो इन्कान्टिभोल क्रियजन शीर्षकमा प्रस्तुत गरिएको थियो।
विश्व सम्पदा र संस्कृति शीर्षकअन्तर्गत क्रिएटिभ चरणमा प्रस्तुत पहिरन शैलीहरुको फ्रान्सको पेरिसस्थित आइफिल टावरको मिनि स्वरूपदेखि ब्राजिलको साम्बा नृत्यको झल्को दिने पहिरन शोको आकर्षण बनेको थियो। स्वयम्भु, धरहरा, लुम्बिनी, रानीमहललगायतको नेपाली गरिमा चित्रण गरेको शैलीदेखि स्कटल्यान्डको लडाकू स्वरूप, अस्ट्रेलियाको राष्ट्रिय जनावर, क्विन भिक्टोरिया गार्डन, सिड्नी ओपेरा
हाउसको प्रतिनिधि गर्ने कल्पनादेखि प्राचीन इजिप्टको झल्को दिने शैली, टर्कीको सांस्कृतिक र ऐतिहासिक गरिमा उजागर गर्ने सिर्जनालगायतले फेसन शोको आकर्षण बढाएको थियो। हरेक सिर्जनामा डिजाइनरको कल्पना, सिर्जनात्मक अभिव्यक्तिले सम्बन्धित राष्ट्र राष्ट्रिय धरोहरलाई सम्मान दर्शाएको महसुस शोमा भएको थियो।
रोजिन शाक्यको कोरियोग्राफीमा भएको कार्यक्रममा क्रिएटिभ राउन्डबाहेक अन्य चार सिक्वेन्समा आफ्ना सिर्जनालाई प्रदर्शन गर्ने क्रममा चालिस युवती एवं ८ युवा मोडलले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रमको प्रारम्भमा कालो, सेतो र खैरो रंगको प्रधानता रहेको नि लेन्थदेखि अन्य शैलीका पहिरनहरु प्रस्तुत गरिएका थिए। दोस्रो चरणमा युवा मोडलहरुले डेनिम जिन्स, स्टाइलिङ र भ्यालु एड गरिएका सर्ट, टिसर्ट प्रस्तुत गरिएका थिए। बोहोमियन कल्चरबाट प्रभावित रिसोर्ट वेयरमा भने कुल कलर्स, बोल्ड फ्लोरल प्रिन्ट, फेमिनेन् टच भएका ग्ल्यामरस नमुना प्रस्तुत भएका थिए। रेड कार्पेट शैलीमा स्टाइलिस, सुन्दर एवं मनमोहक खालका इभिनिङ गाउनहरुलाई अनुभूति गरिएको थियो।
फेसन शोमा मोडलहरुको सुन्दरता र आकर्षण, डिजाइनरहरुको मिहनेत र सिर्जनाका साथमा नमुना कलेज संस्थापक प्रिन्सिपल एवं नेपालकै अग्रणी फेसन डिजाइनर ज्ञानीशोभा तुलाधर तथा उनले तयार पारेका पहिरनमा सजिएका नेपाली फिल्मकी प्रथम अभिनेतृ भुवन चन्द एवं चरित्र अभिनेत्री लक्ष्मी गिरीको रनवेमाथि संयुक्तरूपमा ओहोर–दोहोर गरेका दृश्य कार्यक्रममा सहभागी सबैका लागि प्रेरणादायी महसुस भएको थियो। कार्यक्रममा शो स्टपरका रूपमा जर्मनीका फेसन डिजाइनर स्टेला मारिस हाफेली प्रस्तुत भएकी थिइन्।
प्रतिक्रिया