नेपालमा ट्रम्प

0
Shares

अमेरिकाका भावी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपाली राजनीतिमा मुछ्न खोजेर सत्ता सञ्चालकहरुले फेरि रमाइलो गर्न थालेका छन् । हिजो सोमबार आफूलाई भेट्न आएकी अमेरिकी राजदूतलाई प्रधानमन्त्रीले ट्रम्पले जितेर उताका नेपालीलाई कस्तो असर पर्छ भनेर चासो दिनु सम्मलाई स्वाभाविक मानिएपनि केही दिन अघि एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले नेपालको राजनीतिमा भावी अमेरिकी राष्ट्रपतिलाई जबर्जस्ती तान्ने काम गरेका छन् ।

सो कार्यक्रममा उनको तर्क थियो –‘ट्रम्पले जितेर एमाले उत्साहित भएको छ ।’ हुन सक्छ –अमेरिका जस्तो राष्ट्रको राष्ट्रपति कसरी को बन्यो भन्ने कुराले धेरथोर रुपमा प्रभाव संसार भरी नै पर्छ । तर, मुलुकको कार्यकारी प्रमुखले सार्वजनिक रुपमा त्यस्तो गैह्रकुटनीतिक कुरा किन गर्नुपरेको होला ? बिचरा सल्लाहकार डा ऋषि अधिकारी त कुरा बुझ्नै नै हुन् । तर, प्रधानमन्त्रीले कहाँ के बोल्छन् तिनलाई पनि के थाहा ?

ट्रम्पको विजयले धेरै पक्ष उत्साहित भएका होलान् । इयुबाट बेलायत बाहिरिदा पनि एक खालको सन्देश गएको छ । तर, प्रधानमन्त्रीले नै भाषण गर्दै नहिंडेको भए हुने भनेर धरहरा वरपर धेरैले चर्चा गरेको सुनियो ।

आउँदो जनवरीबाट राष्ट्रपति पद सम्हाल्न लागेका ट्रम्पको नाम अहिले नै लिएर सम्बन्ध सुधार गर्न खोजेको हो भने त्यसमा धरहराको चाहिं कुनै टिप्पणी छैन है । अमेरिका निकटको कम्युनिष्ट भनेर माओवादी केन्द्रलाई चिनाउने योजना पो हो कि ? अहिले नै कसरी बुझ्नु र यो धरहराले पनि ?