सामूहिक प्रदर्शनी सम्पन्न

0
Shares

पाँच जना नेपाली कलाकारको एकदिने सामूहिक कला प्रदर्शनी सम्पन्न भएको छ। तिलिचो कलाको आयोजनामा भएको प्रदर्शनीमा वरिष्ठ कलाकार लोक चित्रकार, प्रथमराज वज्राचार्य, सप्तराज वज्राचार्य, आकाश प्रधान र रसना वज्राचार्य सहभागी रहेका छन्। सिनथेसिस शीर्षकमा गरिएको प्रदर्शनीमा लोक चित्रकारका पौभा कला राखिएको थियो। ४५ कलाकृति राखिएको प्रदर्शनी परम्परागत र समसामयिक कला दुवै विधाको संयुक्त प्रदर्शनी गरिएको हो। प्रदर्शनीमार्फत नेपाली कलाको प्रवद्र्धन र कलाकारलाई आर्थिकरुपमा अगाडि बढाउने योजना रहेको छ।

कला क्षेत्रमा बाहेक सबै क्षेत्रमा कला पुग्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी गरिएको बताइएको छ। त्यस्तै अन्तर्राष्ट्रियरूपमा समेत नेपाली कलालाई लैजानका लागि प्रदर्शनी महत्त्वपूर्ण हुने भएकाले यहाँ नेपालका वरिष्ठ तथा प्रतिभाशाली कलाकारको कला प्रदर्शनी गरिएको तिलिचो कलाका सञ्चालक उर्जेन नोर्बुले बताए।

तिलिचो कलाले कला क्षेत्रमा धेरै सराहनीय काम गरेको प्रदर्शनीमा सहभागी कलाकार लोक चित्रकारले बताए। ‘नेपालमा कलाको पहुँच सीमित क्षेत्रमा मात्रै छ। यसलाई फराकिलो बनाउन यस्ता प्रदर्शनीको महत्त्व रहन्छ।⁄ –उनले भने।
प्रदर्शनीमा चित्रकारले नेपालको अहिलेको राजनीतिक पीडालाई कलात्मक रुपमा प्रस्तुत गरेका छन्। नेपाल आमा प्रसव पीडामा रहेको र त्यसबाट मुक्ति पाउन सबै नेपाली एकजुट हुनुपर्ने सन्देश उनको चित्रमा छ।

प्रदर्शनीमा सामाजिक जीवन, भूकम्पको त्रासदी, महिला हिंसा र महिलाप्रतिको सामाजिक दृष्टिकोणलाई आधार बनाएर अर्का कलाकार रसना वज्राचार्यले चित्र बनाएकी छन्। उनका चित्रमा हिंसा र बलात्कारका घटनाले समाजलाई नै कुरुप बनाइरहेको छ। ती घटना मानवजातिकै लागि खतरा रहेको वज्राचार्यले बताइन्। प्रदर्शनीमा आकाश प्रधानले फोटो राखेका छन्। उनले भूकम्पका बेला खिचिएका तथा प्रकृति र सामाजिक जीवनसँग सम्बन्धित फोटो प्रदर्शनीमा राखेका छन्। प्रथमराज वज्राचार्यका परम्परागत मूर्ति र सप्तराज वज्राचार्यका समसामयिक मूर्ति राखिएका छन्।