ज्ञानमणि नेपाल कालोटोपी
काभ्रेका सहकारी अभियन्ता दीपकप्रसाद पौडेलले यससँग सम्बन्धित एउटा पुस्तक सार्वजनिक गरेका छन् । आमजनमानसमा सहकारीबारे जानकारी दिने उद्देश्यले उनले यो पुस्तक प्रकाशन गरेका हुन् । लेखकले आफूले सहकारीक्षेत्रमा बिताएको २ दशकभन्दा लामो अनुभवलाई पुस्तकको रुप दिएर यसमा सहकारीको उद्देश्य, फाइदा र अन्य आयामहरू उल्लेख गरेका छन् । सहकारीको ऐतिहासिक पृष्ठभूमिसहित यसमा दुग्ध व्यवसाय, पशुपालनलगायतका विविध विषयलाई पनि समेटिएको छ । सहकारी अभियान अनुभव र अनुभूति शीर्षक दिएर पौडेलले नेपालका किसानका समस्या, कृषिक्षेत्र विकास हुन नसकेका कारण र अब के गर्नुपर्ला भन्नेसम्मका कुराको उठान गरेका छन् । आफू सामान्य किसान परिवारमा हुर्केका संस्मरणहरूको उल्लेख गर्दै पौडेलले सहकारीक्षेत्रमा जिल्लामा भएका प्रगतिको चर्चा गरेका छन् । कृषकहरू दुःख गर्छन्, उत्पादन गर्छन् तर ती उत्पादनको उचित मूल्य पाउँदैनन् । धेरै किसानले भोगिरहेको यो अवस्थालाई पनि उनले आफ्नो पुस्तकमा उतारेका छन् ।
काभ्रे जिल्ला दुग्ध उत्पादनमा अग्रणी जिल्लाको रुपमा देशमै प्रख्यात छ । यहाँ दैनिक ३ लाख लिटर दुध उत्पादन हुन्छ र कृषकले २ लाख लिटर दुध राजधानीमा पठाउँदै आएका छन् । तर ५० हजारभन्दा धेरै कृषक लागिपरेको यो क्षेत्रमा पनि हुनुपर्ने जति विकास अझै नभएको कुरालाई पनि पुस्तकमा भेट्न सकिन्छ । नेपालमा धूलो दुध कारखानाको सम्भाव्यता, चीज उत्पादनको इतिहास, दुग्ध उत्पादक सहकारीको संख्या र यसको विस्तार अनि सरकारले कृषकहरूप्रति गरेको व्यवहारबारे पुस्तकमा प्रस्ट्याइएको छ । समस्या समाधानबारे पनि लेखकले खोजी गरेर पुस्तकमा अटाएका छन् ।
सात खण्डमा विभाजन गरेर दुधक्षेत्र, पशुबिमा क्षेत्र, सहकारी अभियान, कृषिक्षेत्र, अन्तर्वार्ता, सामाजिक संस्था र अन्य उपशीर्षकमा लेखिएको यो पुस्तक सहकारीसँग चासो राख्ने जो–कसैलाई पनि एउटा ऐतिहासिक संस्मरण हुने देखिन्छ । यसमा राजनीतिक परिर्वतनहरूले देशभरिका कृषकलाई पारेको प्रभाव, द्वन्द्वले गर्दा किसानले पाएको सास्ती, विकास हुने क्रममा रहेको नेपालको पशुबिमा सहकारीहरूको अवस्थालगायतको पनि चर्चा गरिएको छ ।
समग्रमा पुस्तक जानकारीमूलक, ज्ञानवद्र्धक र विशेष गरी सहकारीका क्षेत्रमा संलग्न हुनेहरूले अध्ययन गर्नै पर्ने खालको देखिन्छ । सहकारी क्षेत्रमा जति विकास भए पनि यस्ता खाले पुस्तकहरू प्रकाशन नभइरहेको अवस्थामा लेखक पौडेलको सहकारी अभियान अनुभव र अनुभूतिले त्यो अभावलाई पनि पूरा गरेको आमपाठकले सजिलै पत्ता लगाउनेछन् ।
प्रतिक्रिया