अल्ट्रालाइट उडाउन रोक


नेपाल समाचारपत्र
काठमाडौं

क्षमताभन्दा बढी यात्री राखेर उडाएका कारण दुर्घटनामा परेको आशंकामा पोखरास्थित एभिया क्लबका अल्ट्रालाइट जहाज उडाउन नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ।

मंसिर ८ गते बिहान सो अल्ट्रालाइट जहाज एभिया क्लबको प्राइभेट एयरपोर्टबाट उड्ने क्रममा दुर्घटनाग्रस्त हुँदा अल्ट्रालाइज जहाजका चालक रसियाली नागरिक अलेक्जेण्डर माम्क्सीमोभको मृत्यु भएको थियो भने सो जहाजमा यात्रा गरिरहेका क्यानेडियन नागरिक जिलिनी भोल्कर घाइते भएका थिए।

कास्कीको बाम्दीस्थित एभिया क्लबको प्राइभेट एयरपोर्टबाट उडान भरिएको थियो।

सो एयरपोर्टबाट कुनै पनि कर्मसियल उडान गर्नका लागि एम्बुलेन्स सेवा, अग्नी नियन्त्रक उपकरण र हवाई सञ्चार प्रविधि नभएको भए पनि सो विमानस्थलबाट उडान भरेको कारण दुर्घटना भएको आशंका गरी प्राधिकरणले सो जहाज उडाउन प्रतिबन्ध लगाएको हो।

सो अल्ट्रालाइट जहाजको क्षमता २ जनाको मात्रै भए पनि सो दिन अल्ट्रालाइटले २ जना जहाजमा र २ जना ≈याङ ग्लाइडरमा राखेर उडान भर्ने क्रममा ओभरलोड भई जहाज अनियन्त्रित हुन गई दुर्घटना भएको थियो।

२ जना बोक्ने जहाजले ४ जना बोक्ने अधिकार नागरिक उड्डयन प्राधिकरणले कसरी दियो त्यो आफै रहस्यको विषय भएको छ। यस विषयमा पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंसँग सम्पर्क राख्दा उहाँले एभिया क्लबलाई बाम्दीको निजी विमानस्थलबाट कमर्सियल फ्लाइट गर्न अनुमति नभएको बताउनुभयो। उहाँले त्यो एयरपोर्ट केबल ट्रेनिङका लागि मात्रै भएको र त्यहाँबाट कमर्सियल फ्लाइट गर्न नपाइने बताउनुभयो। एभिया क्लबले निजी विमानस्थलबाटै कमर्सियल फ्लाइट गरेको जानकारी आएको छ नि भन्ने प्रश्नमा गुरागाईंले भन्नुभयो– ‘त्यो विषयमा अहिले छानबिन भइरहेको छ। यदि कमर्सियल फ्लाइट गरेको पुष्टि भएमा जहाज उडान भर्ने कम्पनीमाथि कारबाही गरिनेछ।’
उक्त जहाज दुर्घटनाको बारेमा छानबिन गर्न प्राधिकरणले एमडी अमात्यको संयोजकत्वमा एउटा टोली पठाएको थियो। सो टोलीले छानबिन गरी प्रतिवेदन बुझाएपछि के भएको हो पुष्टि हुने विमानस्थल प्रमुख गुरागार्इंले जानकारी दिनुभयो।

कुनै पनि विमानस्थलको १० नटिकल माइलनजिक अर्को विमानस्थल बनाउन नपाउने आईकाओको नियम भए पनि एभिया क्लबले ६ नटिकल माइलभित्रै पर्ने गरी निजी विमानस्थल बनाएको छ। यस विषयमा पोखरा विमानस्थल प्रमुख गुरागाईंले भन्नुभयो– ‘१० नटिकल माइलभन्दा नजिक अर्को विमानस्थल बनाउन नपाइने नियम भए पनि सो कम्पनीका जहाजलाई ४ हजार ५ सय फिटभन्दा उडान भर्न नपाइने गरी अनुमति दिइएको छ।’

भौतिक पूर्वाधार नभएको ठाउँमा एभिया क्लबलाई किन ट्रेनिङ गर्ने अनुमति दिइयो भन्ने बारेमा अहिले कुनै पनि सरकारी अधिकारीसँग त्यसको जवाफ पाइँदैन।