तुइन विस्थापन कहिले?



प्रशान्त वली, काठमाडौं
केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले देशभर रहेका तुइन हटाउने निर्णय गरेसँगै सरकारले झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्ररुपमा अघि बढाएको छ। देशभर १ सय ७१ वटा तुइन रहेको र अहिलेसम्म १० वटा तुइन हटाई झोलुङ्गे पुल प्रतिस्थापन गरिएको पुल विभागले जानकारी दिएको छ।

यस्तै ६० वटा तुइन यस आर्थिक वर्षभित्र हटाउने गरी टेण्डर गरिएको बताइएको छ। कतिपय तुइनहरू ढुंगा ओसारपसारका लागि समेत प्रयोग भएको पाइएको छ। तुइनहरू कमजोर र दीर्घकालीन नहुँदा पैदलयात्रीहरूले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए।

अबको पाँच वर्षभित्र १ हजार २ सय पुलहरू निर्माण कार्य सम्पन्न हुने भएका छन्। पछिल्लो आँकडाअनुसार देशभर १ हजार ५ सय पुलहरू रहेका छन्। जसका लागि ३८ करोड ९९ लाख रुपियाँ बजेट विनियोजन गरिएको सडक विभागको पुल महाशाखाले बताएको छ।

जसमध्ये पूर्वाञ्चलमा २ सय ५, पश्चिमाञ्चलमा २ सय १२, मध्यपश्चिममा २ सय ३३, सुदूरपश्चिममा ८४ वटा पुल निर्माण सम्पन्न भइसक्ने महाशाखाका इन्जिनियर विमल वस्नेतले बताउनुभयो। महाशाखाका इन्जिनियर वस्नेतले थप्नुभयो– ‘नेपालभर ९ सय ५ वटा स्थानीय सडक पुल र २ सय ९५ वटा सामाजिक महत्त्वको सडकअन्तर्गतका पुल निर्माण गरिनेछ।’

गत आर्थिक वर्षसम्म ३२ वटा पुल निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ। यसैबीच १ हजार ६ सय १० वटा पुल निर्माणका लागि पुल डिजाइन कार्य हुने भएको पुल महाशाखाले बताएको छ। चालु आर्थिक वर्षमा ५ सय २० वटा पुलको सर्बे डिजाइन गरिने र त्यसका लागि प्रतिपुल १० लाख रुपियाँसम्म खर्च लाग्ने महाशाखाले बताएको छ।

पुल निर्माण कार्यलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन परामर्श दाता नियुक्ति हुने क्रम शुरू भएको छ। २०७१⁄०७२ मा ५ सय ६०, २०७२⁄०७३ मा ४ सय ३० वटा पुलको सर्बे डिजाइन भएको थियो। पुल निर्माणपश्चात् आवत जावतमा सहजता आउने र खोलामाथिका सडक र खोलाहरू रहेको क्षेत्रमा यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्