चुनवाङ बल्ल सडक सञ्जालमा जोडियो

0
Shares

धनवीर दाहाल, रुकुम
तत्कालीन विद्रोही माओवादीको हेडक्वार्टरका रूपमा चिनिने रुकुमको चुनवाङमा माओवादी शान्ति प्रक्रियामा आएको ११ वर्षपछि बल्ल सडक सञ्जालसँग जोडिएको छ। बुधबार घर अगाडि गाडी पुग्दा चुनवाङ गैरीगाउँका स्थानीय निकै खुसी भएका छन्। स्थानीय गोविन्द पुनले अब आफ्नो गाउँमा ढिलै भए पनि विकासका अन्य कार्यक्रमले पनि स्थान पाउने आशा व्यक्त गरे। बुधबार चुनवाङ गाविसमा पहिलोपटक दाङको घोराहीबाट ठूलो बस सञ्चालनमा आएको हो। दाङको घोराहीबाट छुटेको सिस्ने यातायात समितिको ना घ ख ८७१३ नं को गाडी चुनवाङको गैरीगाउँ पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका थिए। स्थानीयहरू खुसी भएर नाचगानसमेत गरेका थिए।

राप्ती यातायात समिति, जलजला यातायात समिति र सिस्ने हिमाल यातायात समितिको त्रिपक्षीय सहमतिअनुसार राप्ती, जलजला र सिस्नेले आधा क्यु खाने गरी अबदेखि चुनवाङदेखि घोराही र घोराहीदेखि चुनवाङ नियमित बस सञ्चालन हुने भएको हो। चुनवाङबासीलाई विगतमा दाङ जानका लागि गाडी भेट्टाउन रोल्पाको बागमारा जानुपर्ने बाध्यता रहेको थियो। पहिलोपटक गाडी पुगेको खुसीयालीमा चुनवाङका स्थानीयबासीले सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समिति सदस्य भुवन भुसाल र गाडी चालक चूडामणि विक र गाडीलाई फूलमाला र अबिरले स्वागत गरेका थिए।

२०६२ सालमा बैठकका लागि चुनवाङ आएका माओवादी नेताहरूले चुनवाङलाई देशकै नमुना बनाउने उद्घोष गरे पनि भनेअनुसारको बाचा पूरा नगरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए। माओवादी शान्ति प्रक्रियामा आएको ११ वर्ष पूरा भई विभिन्न समयमा माओवादी सरकारमा समेत गइसकेको छ भने तत्कालीन विद्रोही माओवादीका कमान्डर प्रचण्ड हाल देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री छन्। अहिले गाउँमा गाडी पुगेपछि ढिलै भए पनि विकासका अन्य कामले पनि तीव्रता पाउने अपेक्षा स्थानीयले गरेका छन्। विकासका निर्माणका लागि माओवादी र सरकार दुवैले उपेक्षा गरेको स्थानीयको गुनासो छ।
२०५५ सालमा माओवादीले चुनवाङको प्रहरी चौकी आक्रमण गरेको थियो। त्यति बेला ध्वस्त भएको प्रहरी चौकी अहिलेसम्म नबन्दा शान्तिप्रक्रियाको शुरूआतसँगै स्थापना भएको प्रहरी चौकी भाडाको घरमा बसेको छ। चुनवाङमा द्वन्द्वको समयमा करिब २ करोडको सम्पत्ति क्षति भएको थियो भने १ सय ७ जना नागरिकहरू घाइते तथा अपांग जीवन बिताउन बाध्य छन्। चुनवाङले माओवादी विद्रोहका बेला ३५ जना नागरिक गुमाएको छ। विस्तारै द्वन्द्वको घाउ बिर्सने गरी विकास गर्न चुनवाङबासीले सरकारलाई आग्रह गरिरहेका छन्।