नेपालको हितमा संविधान संशोधन

0
Shares

(किरण गिरी) संविधानसभाले निर्माण गरेर गतवर्ष जारी गरिएको नेपालको संविधान २०७२ लाई खुलस्तरुपमा स्वागत गर्न नसकेको छिमेकी मित्रराष्ट्र भारतले अहिले आएर संविधान संशोधनमा अलि बढी नै चासो देखाउन थालेको छ । यसलाई नेपाली जनताले सहजरुपमा लिन सकिरहेका छैनन् ।

१८ वर्षपछि भारतीय उच्च नेतृत्वबाट गरिएको नेपाल भ्रमणलाई नेपाली जनताले उच्च सम्मानका साथ स्वागत गरिरहँदा सामाजिक सञ्जालहरूमा केही तीता अभिव्यक्तिहरू आए । त्यो गतवर्ष विनाकारण नेपाल र नेपाली जनताले नाकाबन्दीको कारण भोग्नुपरेको कष्टपूर्ण जीवनशैलीको एउटा अभिव्यक्ति थियो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको सन्दर्भमा उनले यहाँको राजनीतिक भेटघाटमा अलि बढी नै चासो र चिन्ता व्यक्त गरेको सन्दर्भलाई नेपाल र नेपाली जनताले त्यति राम्रोसँग पचाउन सकिरहेका छैनन्, जुन स्वाभाविक हो । आफ्नो संविधान कस्तो बनाउने, त्यसमा कस्ता परिवर्तन र परिमार्जनहरू गर्दै जाने ? भन्ने सवाल सार्वभौम नेपाल र नेपाली जनतासँग सम्बन्धित रहेको कुरा हो । हुन त संविधान परिवर्तनशील दस्तावेज हो, यसलाई नेपालको संविधानले नै आत्मसात् गरिसकेको छ । सम्भवतः यसै हप्ता दलहरूबीच सहमति भएर संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने तयारीमा दलहरू लागिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मधेसी दलको भावनाअनुसार संविधान संशोधन गरेर सबैलाई समेटेर अगाडि बढ्न आग्रह गरे । यो खबरले नेपाल एक स्वतन्त्र सार्वभौम राष्ट्र भएर अगाडि बढ्न पाउने कि नपाउने भन्ने सवाल राजनीतिक वृत्तमा उठ्नु स्वाभाविकै हो ।

छिमेकी मित्रराष्ट्र भारतले सिंगो नेपाल र नेपाली जनताको सद्भाव र सहयोग प्राप्त गरिरहेको अवस्थामा भारतीय संस्थापन पक्षले भने निरन्तर मधेस र मधेसी दल मात्र भनेर आफ्ना दृष्टिकोणलाई संकुचित गरिरहँदा नेपाल र नेपाली जनताको भावना कुण्ठित हुनसक्छ । यसतर्फ छिमेकी मित्रराष्ट्र भारत जानकार र समझदार अवश्य छ ।

हुन त नेपालको राजनीतिक परिवर्तन, प्रजातान्त्रिक विकास र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा छिमेकी मित्रराष्ट्र भारतको सद्भाव र सहयोगलाई नकार्न मिल्दैन । नेपालमा सबै खाले राजनीतिक परिवर्तन र घटनाक्रममा भारतको उल्लेख्य सहयोग र समर्थन रहँदै आएको छ । यसलाई नेपाली जनताले भुलेका छैनन् । तर त्यसको अर्थ हरेक घटना र परिघटनामा भारत ठूल्दाइको सोच लिएर देखा परिरहनुपर्दछ भन्ने मान्यतामा नेपाली जनता नरहेको अवस्था छ । केही त्रुटि र कमजोरी नेपालका राजनीतिक दलहरूले गरेकै कारण यो परिस्थितिको सिर्जना भएको हो । राजनीतिक सत्ता प्राप्ति र सत्तामा टिकिरहनको लागि दक्षिणको आशिर्वादलाई प्राथमिकताका साथ ग्रहण गर्नुपर्दछ भन्ने मान्यता दल र दलका नेताहरूले राखेकै कारण आज यति बढी चासो र चिन्तालाई हामीले व्यहोर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र राप्रपाबीचको सहमति र सहकार्य कायम हुन नसक्दा यो परिस्थिति सिर्जना भएको हो । अझै पनि हाम्रा राजनीतिक दलहरूको चेतना फिरेको अवस्था देखिँदैन । एउटा शाश्वत सत्य के हो भने, संविधान संशोधनको लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको साथ र सहयोग अत्यावश्यक रहन्छ । यसको लागि कांग्रेस र एमालेबीचको समझदारी र सहमति आवश्यक देखिन्छ । अर्कोतर्फ संसद्मा पेस भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न पनि कांग्रेस, एमाले, माओवादी र राप्रपा नमिलीकन हुँदैन । संविधान संशोधन र यो महाअभियोगको प्रस्ताव सँगसँगै पारित हुने विश्वास प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सार्वजनिक गरिसक्नुभएको छ ।

जे होस्, हाम्रो संविधानमा दोस्रो पटक संशोधनको प्रस्ताव सदनमा प्रस्तुत हुने तयारीमा रहँदा छिमेकी मित्रराष्ट्रबाट यति धेरै चासो र चिन्ता प्रकट हुनुलाई स्वाभाविक रुपमा लिन सकिँदैन । भारतको संविधानको कतिपय प्रावधान र व्यवस्थाहरूको बारेमा आजसम्म कुनै पनि नेपाल र नेपालीबाट टिप्पणी गरिएको अवस्था छैन, त्यो गर्नु पनि हुँदैन । तर नेपालको संविधानप्रति भारतले यति बिघ्न चासो र चिन्ता व्यक्त गर्नुलाई कुन रुपमा हेर्ने ? त्यो बुझ्न सकिरहेको छैन । छिमेकी मित्रराष्ट्र भारतले नेपाली जनस्तरमा नाकाबन्दीको कारण समर्थन गुमाइरहेको छ भन्ने सन्देश भारतीय संस्थापन पक्षले बुझेको हुनुपर्दछ । यसतर्फ दुवै देशका राजनेताहरूले परिपक्व, दूरगामी र कुटनीतिक क्षमताका साथ दुई मुलुकको सम्बन्धलाई अघि बढाउन सक्नुपर्दछ ।

अझ अघिल्लो हप्ता अंगीकृत नागरिकले पनि मुलुकको राष्ट्रप्रमुख लगायत संवैधानिक प्रमुखहरू हुन पाउने प्रावधानसहितको संविधान संशोधन प्रस्तावको मस्यौदा सार्वजनिक हुनेबित्तिकै नेपाली समाज जुन किसिमले उत्तेजित र तरंगित भयो त्यसले के संकेत गर्छ भने, त्यो प्रस्ताव मधेस र मधेसी जनताको हितमा होइन कुनै अमुक ठाउँको हितमा हो भन्ने नेपाली जनताले स्पष्टै बुझे । त्यसको कारण आमसञ्चारमाध्यम, नागरिक समाज र सामाजिक सञ्जालहरू नकारात्मक टिप्पणीहरूले तुरुन्तै भरिन पुग्यो । नेपाल र नेपाली जनताको चेतना र बौद्धिकताको स्तर धेरै माथि उठिसकेको अवस्थामा ५० औं वर्षअगाडिको सोच र दृष्टिकोणलाई नेपाल र भारत दुवै तर्फका राजनेताहरूले बुझ्नु जरुरी छ ।

नेपाली जनमत भारत विरोधी छ भन्ने होइन, तर आफ्नो मुलुकको हितको पक्षमा के गर्दा ठीक र के गर्दा बेठिक भन्ने निर्णय गर्न सक्ने स्तरमा पुग्न खोजेकोचाहिँ पक्कै हो । नेपाली जनताकै सशक्त आन्दोलनको कारण राजतन्त्रको अन्त्य भएको हो, नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न भएको हो र संविधानसभाले संविधान जारी गरेको हो । यसमा छिमेकी मित्रराष्ट्र भारतको सद्भावपूर्ण भूमिका थियो नै । यसलाई हाम्रा राजनीतिक दलहरूले त्यही रुपमा बुझ्नु आवश्यक हुन्छ । अहिले नेपाल र नेपालीको हित हुने गरी संविधान संशोधन गरेर मधेसवादी जनताको भावना र चाहनाको सम्मान गर्दै अगाडि बढ्नु जरुरी छ । त्यसपश्चात् स्थानीय, प्रान्तीय र संघीय संसद्हरूको निर्वाचन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधान कार्यान्वयनको दिशामा सफलरुपमा अगाडि बढ्न र मुलुकमा दिगो शान्ति एवम् आर्थिक सम्बृद्धिको वातावरण तयार पार्न हाम्रा राजनीतिक दलहरूको प्रमु्ख दायित्व हो । यो पूरा गर्न दुवै छिमेकी मुलुकहरूको सहयोग, सद्भाव लिनु अत्यावश्यक देखिन्छ ।
(लेखक पत्रकार एवम् राप्रपा सह–प्रवक्ता हुनुहुन्छ ।)