सूपमा २६ प्रतिशत महिला घरमै प्रसूति हुँदै

0
Shares

हेमन्त पौडेल, कैलाली
सुदूरपश्चिममा अझै पनि ठूलो संख्यामा गर्भवती महिलाहरू असुरक्षित तवरले घरमै प्रसूति हुने गरेको पाइएको छ। एक तथ्यांकअनुसार सुदूरपश्चिममा कुल गर्भवती महिलाको २६ प्रतिशत गर्भवती महिलाहरू स्वास्थ्यकर्मीको सहयोगविना घरमै प्रसूति हुने गरेका छन्। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार यस क्षेत्रका नौवटै जिल्लामा गत आर्थिक वर्ष २०७२÷७३ मा कुल ७४ हजार ४ सय ६० जनामध्ये १९ हजारभन्दा बढी गर्भवती महिलाहरू स्वास्थ्यकर्मीको सहयोगविना घरमै प्रसूति भएका छन्।

त्यस अवधिमा ४२ हजार ५ सय ११ जना स्वास्थ्य संस्थामा र ८ सय ७७ जना घरमै स्वास्थ्यकर्मीको सहयोगमा गरी ४३ हजार ३ सय ८८ जना गर्भवती महिलाले सुरक्षित प्रसूति गराएका छन्। तर आर्थिक वर्ष २०७१÷७२ मा भने स्वास्थ्यकर्मीको सहयोगविना घरमै प्रसूति हुनेहरूको संख्या बढी रहेको थियो। जुन पछिल्लो आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष २०७१÷७२ मा ३५ प्रतिशत गर्भवती महिलाहरू स्वास्थ्यकर्मीको सहयोग नलिईकनै घरमै प्रसूति भएका थिए। तथ्यांकअनुसार आर्थिक वर्ष २०७१÷७२ मा २६ हजार ८ ११ जना गर्भवती महिलाहरू स्वास्थ्यकर्मीको सहयोगविना घरमै प्रसूति भएका छन्। साथै त्यस अवधिमा ७४ हजार ७ सय २९ जनामध्ये ३५ हजार १ सय ४८ जना स्वास्थ्य संस्थामा र १ हजार ४ सय ९ जना घरमै स्वास्थ्यकर्मीको सहयोगमा गरी ३६ हजार ५ सय ५७ जना गर्भवती महिलाहरू प्रसूति भएका छन्।

सुदूरपश्चिमभरि स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गराउनेको संख्या बढ्दै गएको भए पनि विकसित मानिएका कैलाली र कञ्चनपुरमा भने घरमै प्रसूति गराउनेको संख्या उच्च नै रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार कैलाली र कञ्चनपुरमा अझै पनि हरेक वर्ष ५ हजारभन्दा बढी गर्भवती महिलाहरूले स्वास्थ्यकर्मीको सहयोग नलिएरै घरमै प्रसूति हुने गरेका छन्। ‘कैलाली कञ्चनपुरमा जनसंख्या धेरै नै रहेको र उपलब्धि नजिक पुग्न समय लागिरहेको छ’, उहाँले भन्नुभयो– ‘त्यहाँका केही बस्तीहरूका जनचेतनाको स्तरबाट टाढा रहेकाले तथ्यांकले यस्तो देखाएको हो।’ पहाडी जिल्लामा भौगोलिक कठिनाइ भए पनि जनसंख्या कम भएको र सोहीअनुसार उपलब्धि हात पार्न सजिलो रहेको उहाँको दाबी छ। उहाँका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्यकर्मीको सहयोगविना घरमै प्रसूति गराउनेहरू बाजुरामा ९ सय ४८, बझाङमा १ हजार ३ सय ६६, अछाममा १ हजार २ सय २९, डोटीमा १ हजार २ सय ४७, कैलालीमा ५ हजार ९३, कञ्चनपुरमा ५ हजार ४ सय ८२, डडेल्धुरामा १ हजार १ सय २०, बैतडीमा १ हजार ९ सय ८७ र दार्चुलामा १ हजार २ सय ८२ जना रहेका थिए।

जुन संख्या त्यो भन्दा अघिल्लो वर्षको भन्दा घटेको देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका परिवार स्वास्थ्य कार्यक्रमका फोकल पर्सनसमेत रहेका भट्टले जानकारी दिनुभयो। कुल जनसंख्याको ४ प्रतिशतसम्म महिलाहरू गर्भवती हुने गरेको अनुमान गरिन्छ। गर्भवती महिलाहरूमध्ये ९० प्रतिशतसम्म सरल तवरले प्रसूति हुने गर्दछन् भने बाँकीको अपरेसन गरेर प्रसूति गराइन्छ।