“नीति निर्माण तहमै सुधारको खाँचो छ”

0
Shares

प्रमिला आचार्य रिजाल
अध्यक्ष, दक्षिण एसियाली महिला विकास मञ्च
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन स्थगित भएका बेला दक्षिण एसियाली महिला विकास मञ्चको सार्क राष्ट्रका महिलाहरूको दुईदिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनमा नेपाल, भुटान, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भारतका महिला प्रतिनिधिहरूको सहभागिता थियो। विकास मञ्चको अध्यक्ष राष्ट्र नेपालले आयोजना गरेको सम्मेलनमा ५० जना प्रतिनिधिको सहभागिता थियो। दुई वर्षअघि नेपालमा भएको १८औं सार्क शिखर सम्मेलनका क्रममा सार्क राष्ट्रका मन्त्रिस्तरीय निर्णयबाट दक्षिण एसियाली महिला विकास मञ्चले सार्कबाट मान्यता प्राप्त गरेको थियो। सार्क राष्ट्रका महिलाहरूको उद्यमशीलता विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चार वर्षअघि स्थापना भएको मञ्चमा सार्क राष्ट्रका प्रत्येक देशबाट एक जना उपाध्यक्ष र पाँच जना बोर्ड सदस्य रहेका छन्। नेपाल महिला उद्यमी महासंघको पूर्वअध्यक्ष, सार्क महिला उद्यमी परिषद्को पूर्वसभापतिसमेत रहेर सार्क राष्ट्रमा महिलाहरूको आर्थिक र नेतृत्व क्षमता विकासका बारेमा १५ वर्ष अनुभव संगाल्नुभएका प्रमिला आचार्य रिजालकै सक्रियतामा चार वर्षअघि दक्षिण एसियाली महिला विकास मञ्चको स्थापना भएको थियो।
महिला उद्यमशीलता विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा दक्षिण एसियाली महिलाहरूका साझा समस्या समाधान गर्नका लागि विशेष समूह निर्माण गरेर अगाडि बढ्ने निर्णय गरेको छ। मञ्चका अध्यक्ष रिजाले नै विशेष समूहको अध्यक्षता पनि गर्नुभएको छ। सार्क राष्ट्रमा महिलाहरूको आर्थिक उद्यमशीलताका लागि मान्यता पाएको संस्था भएको बताउँदै अध्यक्ष रिजालले सार्क सम्मेलन स्थगित भएको बेला सार्क राष्ट्रका महिलाहरूको सम्मेलनमार्फत नेपालले सकारात्मक सन्देश दिन सकेको बताउनुहुन्छ। यसै विषयमा केन्द्रित रहेर सार्क राष्ट्रमा महिलाहरूको आर्थिक एवं नेतृत्व तहमा प्रतिनिधित्व, आगामी दिनको योजनालगायतको विषयमा नेपाल समाचारपत्रका लागि दीपक रिजाल र मधुसूदन रायमाझीले गरेको कुराकानीः–

दक्षिण एसियाली महिला विकास मञ्चले सार्क देशका महिलाहरूको सम्मेलन आयोजना गर्नुको उद्देश्य के हो?
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आबद्ध रहेका ८ वटै देशबाट सम्मेलनमा सहभागिता रहेको थियो। सबै सार्क राष्ट्रमा उपाध्यक्षसहित पाँच जना बोर्ड सदस्यहरूको सहभागिता रहेको थियो। सार्क राष्ट्रका महिलाहरूको आर्थिक जीवनस्तर कसरी सुधार गर्ने र महिलाहरूलाई कसरी उद्यमशील बनाउने भन्ने नै मञ्चको उद्देश्य हो। सम्मेलनबाट सार्क राष्ट्रका महिलाहरूको आर्थिक सशक्तिकरणका लागि कसरी सहकार्य गरेर अगाडि जाने भन्ने कुरामा केन्द्रित भएर छलफल गर्यौं। सम्मेलनमार्फत् कुन देशका महिलाहरूको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने भयो। मुख्यतः महिलाहरूलाई उद्यमशील बनाउन सफल भएका परियोजनाहरूलाई अर्को मुलुकमा लागू गराउन सहयोग पुर्याउनु हो। आर्थिक परियोजना कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा पनि सम्मेलनले स्पष्ट दृष्टिकोण अगाडि सारेको छ। प्रत्येक वर्ष सार्क राष्ट्रका महिलाहरूको सम्मेलन नेपालमा आयोजना गर्दै आएका छौं।

दक्षिण एसियाली महिला विकास मञ्चले गरिरहेका काम के–के हुन्?
खास गरी महिलाहरूको आर्थिक विकास। महिलाहरूलाई उद्यमशीलता बनाउने र नेतृत्व तहमा महिलाहरूको सहभागिता गराउने कामलाई प्राथमिकता दिँदै काम गर्दै आएका छौं। अन्य सार्क मुलुकका सफल परियोजना नेपालमा पनि ल्याएका छौं। सार्क देशका महिलाहरूबीच हुने सम्मेलनमार्फत् सफल परियोजना एक अर्को देशमा लागू गराउन सफल पनि भएका छौं। विशेष गरी महिला उद्यमशीलता बढाउनका लागि महिलाहरूसँग सम्बन्धित आर्थिक परियोजना आदान–प्रदान गर्ने काम गरिरहेका छौं। सार्क राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने महिलाहरूको अवस्थालाई पनि नजिकबाट नियाल्दै आएका छौं। सकेसम्म त वैदेशिक रोजगारीमा नगई देशभित्र नै आफूले जानेको सीप र क्षमताले आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै आएका छौं। वैदेशिक रोजगारीमा गएर फर्किएपछि उहाँहरूलाई पुनः विदेश जान नदिन र आत्मनिर्भर बनाउनका लागि उद्यमशील बनाउने परियोजना सञ्चालन गर्ने गरी काम अगाडि बढाउने तयारी गरेका छौं। सार्क राष्ट्रको कुरा गर्ने हो भने सबैभन्दा बढी महिलाहरू वैदेशिक रोजगारीमा जाने नेपाल त्यसपछि श्रीलंका र भारत रहेका छन्। वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँहरूको जीवनस्तर उकास्न गर्नुपर्ने कामका लागि भर्खरै दातृ संस्थासँग परियोजना अगाडि सारेका छौं। त्यसबाट आर्थिक सहयोग पायौं भने नेपालको सातवटा जिल्लामा महिला उद्यमशीलता कार्यक्रम अगाडि बढाउँछौं।

सार्क राष्ट्रमा राजनीतिक र आर्थिक दृष्टिकोणले महिलाहरूको अवस्था कस्तो छ?
दुई÷तीन वर्ष अघिसम्म नेपाली महिलाहरू निकै नै पछाडि थियौं। यसपालिको सम्मेलन गर्दा अगाडि गइसकेका रहेछौं। हाम्रो प्रतिनिधित्व देशको उच्च तहमा देखिएको छ। राष्ट्रप्रमुख राष्ट्रपति, सभामुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, संसद्मा ३३ प्रतिशत महिलाहरूको सुनिश्चितता देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा नेपालका महिलाको अवस्था अन्य देशको तुलनामा निकै राम्रो छ। तर आर्थिक क्षेत्रमा भने नेपाली महिलाको अवस्था सन्तोषजक रूपमा अगाडि बढ्न सकेको देखिँदैन। राजनीतिक रूपमा नेपालले गर्व गर्न सक्ने अवस्था छ। नेपालमा दर्ता भएको उद्योगमा महिलाको सहभागिता दुई प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ। आर्थिक दृष्टिकोणले श्रीलंका र भुटान धेरै अगाडि छन्। हामीले २ प्रतिशतबाट बढाएर २ दशमलव ५ कसरी पुर्याउन सकिन्छ भनेर लागेका छौं। सम्मेलनमा सहभागी सार्क राष्ट्रका सबै प्रतिनिधिले नेपालको नीति निकै महिलामैत्री भएको भन्दै खुलेर प्रशंसा गरेका छन्। उहाँहरू पनि नेपालको नीतिप्रति निकै प्रभावित हुनुभएको छ। संविधानले गरेको सुनिश्चितताबाट नेपालबाट धेरै कुरा सिक्नुपर्ने उहाँहरूले सुनाउनुभएको छ। पाकिस्तानले त नेपालको जस्तै नीति आफ्नो देशमा गएर सरकारसँग महिलाहरूको सहभागिता सुनिश्चितताका लागि कुरा गर्ने बताउनुभएको छ। हामीले आर्थिक क्षेत्रमा महिलाहरूको जीवनस्तर कसरी सुधार गर्ने भन्नेमा भारत र श्रीलंकाबाट सिकिरहेका छौं। आर्थिक रूपमा हामी अझै पनि पछाडि नै छौं।

संविधानमा नै हरेक तहमा महिलाको सहभागिता सुनिश्चित गरेको छ। देशले पहिलोपटक राष्ट्रप्रमुख पाएको छ। तर हाल गठन भएको मन्त्रिमण्डलमा महिलाको सहभागितो ज्यादै न्यून हुनुले के संकेत गर्छ ?
कुनै पनि कुरा परिवर्तन हुन समय लाग्छ। रातारात केही पनि कुरा हुन सक्दैन। संसद्मा ३३ प्रतिशतले सहभागिता गर्ने भएका छौं। यो उपलब्धि नै हो। हामीले नीति निर्माण तहमा पुग्नका लागि धेरै उपलब्धि हासिल गरेका छौं। सबै कुरा एकैपटक प्राप्त हुँदैन। क्रमशः पूरा हुँदै जान्छ। विस्तारै ढोका खोल्ने हो। आर्थिक क्षेत्रमा उपस्थिति बलियो छैन। यसका लागि निकै महेनत गर्नुपर्ने देखिन्छ। समग्र रूपमा हेर्दा आर्थिक एजेन्डाले कहिले पनि प्राथमिकता पाएको देखिँदैन। राजनीतिक एजेन्डाले प्राथमिकता पाएकाले हामी पनि त्यहीभित्र पर्यौं। आर्थिक रूपमा नीति निर्माणकै कुरा आउँछ। नेपालमा राजनीतिक स्थायित्व नहुँदा पनि निकै समस्या देखिएका छन्। महिला मात्र होइन समग्र देशकै आर्थिक क्षेत्रको कुरा जोडिन्छ। अहिलेसम्म राजनीतिक एजेन्डामा मात्र छलफल भयो। अब आर्थिक एजेन्डामा नै बढी केन्द्रित गर्नुपर्छ।

यो सम्मेलनबाट के के पारित गर्नुभएको छ?
महिला उद्यमशीलता विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्न सबै सदस्य राष्ट्रका प्रमुखलाई भेटेर सुझाव दिनका लागि सार्क क्षेत्रका महिलाहरूको विशेष समूह गठन गरेका छौं। सफल परियोजना सञ्चालन गर्नका लागि पहल गर्ने। सफल परियोजनामार्फत एक देशले अर्को देशबाट फाइदा लिन सकोस्। क्षेत्रीयस्तरका परियोजना सञ्चालन गर्नका लागि सहकार्य गरेर काम गर्ने निर्णय सम्मेलनले गरेको छ।
सार्क क्षेत्रमा नेतृत्वमा महिलाहरूको सहभागिताको अवस्था कस्तो छ?
नेपालको राष्ट्रिय नीति निर्माण तहमा महिलाको सबैभन्दा राम्रो सहभागिता छ। अन्य सार्क राष्ट्रमा महिलाको सहभागिता पछाडि नै छ। आर्थिक क्षेत्रमा लागेका महिलालाई केहीले पनि रोक्न सक्दैन भन्ने यो सम्मेलनले प्रमाणित गरेको छ। सार्क सम्मेलन स्थगित भएका बेला यो सम्मेलन होला कि नहोला भन्ने चासो र चिन्ता थियो। सार्क राष्ट्रमा भारत र पाकिस्तान छन्। आउनुहुन्छ कि आउनुहुन्न भन्ने निकै दुविधा थियो। भारत र पाकिस्तानको राजनीतिक मुद्दा हो। हामीले त समग्र महिलाको उत्थान गर्नका लागि आर्थिक मुद्दा उठाएका हौं। हामी रोकिन्न हुन्न भन्नेमा सबैको ऐक्यबद्धता भयो। यो सम्मेलन हुनु नै ठूलो सफलता हो। सार्क राष्ट्रका महिलाहरू कति सक्रिय रहेछन् यो सम्मेलनले प्रमाणित गरिदिएको छ। यसको सन्देश पनि निकै सकारात्मक गएको छ।

सार्क सम्मेलनको सन्देश के हो?
सबै क्षेत्रमा राजनीतिक मुद्दा ल्याउनु हुँदैन। राजनीतिक मुद्दा आ–आफ्नो ठाउँमा हुन्छ। राजनीतिले मात्र कुनै पनि देशको विकास गर्दैन। राजनीतिले मात्र जनताको जीवनस्तर माथि जान सक्दैन। आर्थिक रूपमा सम्पन्न बनाउनका लागि आर्थिक एजेन्डालाई नै प्राथमिकतामा राख्नुपर्यो। हामीले सम्मेलनमार्फत् आर्थिक एजेन्डामा सबै मिलेर अगाडि बढ्न सकेको अवस्थामा मात्र सार्क राष्ट्रहरूको समृद्धि सम्भव छ भन्ने सन्देश दिएका छौं।

महिलाहरूको जीवनस्तर उकास्नका लागि गर्नुपर्ने आधारभूत काम के हुन्?
दृढ इच्छाशक्ति भए केहीले पनि रोक्न सक्दैन भनेझैं केही महिलाहरूले आर्थिक क्षेत्रमा उदाहरणीय काम गरेर देखाइसकेका छन्। महिलाहरूले आफ्नो सीपलाई विकास गर्नुपर्छ। काम सानोठूलो हुँदैन। जे जानेको छ त्यसलाई व्यावसायिक रूपमा गर्ने जाँगर देखाउनुपर्छ। आत्मनिर्भर बन्नका लागि जागिर नै खानुपर्छ भन्ने मानसिकता त्याग्नुपर्छ। पैसा कमाउनका लागि वैदेशिक रोजजारीमै जानुपर्छ भन्ने होइन। सामान्य कामबाट सुरुआत गर्दा पनि आत्मनिर्भर बन्न सकिन्छ। कृषिको क्षेत्र होस् वा घरेलु उद्योग सञ्चालनको क्षेत्र होस्। केही न केही गर्ने सोच र योजना बनाएर अगाडि बढ्नुपर्छ। केही भएन भनेर हात बाँधेर बस्नु भन्दा जे जानेको छ त्यो कामलाई लगनशीलताको साथ सम्पन्न गर्ने अठोट व्यक्त गर्नुपर्छ। यस्तो हुन सकेमा आर्थिक रूपमा विपन्न महिलाहरूको जीवनस्तर उकास्न सकिन्छ। राजनीतिक अधिकार पर्याप्त रूपमा प्राप्त गरेका छौं। नीति निर्माण तहमा यसलाई कार्यान्वयन गराउन लाग्नुपर्छ। अर्कातिर सबै महिलाले केही न केही गर्ने आँट र जाँगर देखाउनैपर्छ। आर्थिक रूपमा आत्मनिर्भर बन्ने सोच बनाएर काम गर्यो भने कसैबाट पनि अपहेलित हुनुपर्दैन। आयआर्जन गर्ने ठाउँमा अधिकांश स्थानमा पुरुष छन्। कतिपय महिलाले चेतना अभावका कारण पनि धेरै काम गर्न सक्नुभएको छैन। उहाँहरूको चेतनास्तरमा अभिवृद्धि गर्नुपर्छ। आफूमा भएको सीप विकास गरेर अगाडि बढ्ने भावना सबैले राख्नुपर्छ। सोचमा परिवर्तन ल्याउनुपर्छ। जबसम्म परम्परावादी सोच परिवर्तन हुन सक्दैन तबसम्म केही हुन सक्दैन।

सामाजिक रूपमा महिलाहरूमा आएको परिवर्तन कस्तो पाउनुभएको छ?
हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण निकै फरक थियो। बदलिँदो समय र परिस्थितिअनुसार सामाजिक रूपमा पनि महिलाहरू अघि बढिसकेका छन्। विगतदेखि चल्दै आएको संस्कार र सोचमा परिवर्तन आएको छ। समाजले हेर्ने दृष्टिकोणमा पनि व्यापक सुधार आएको छ। यो खुसीको विषय हो। जहिले गरिबी शब्द आउँछ महिलासँगै जोडिएको हुन्छ। त्यो राम्रो होइन। गरिबी भनेको देशको अर्थतन्त्र हो नि? महिला मात्र गरिब हुँदैनन्। पुरुष पनि गरिब हुन्छन्। गरिबी र महिलालाई सँगै जोड्ने संस्कारबाट हामी मुक्त हुनुपर्छ। पहिला महिला बिरामी भएर सिकिस्त हुँदा पनि महिलाले नै खाना बनाउनुपर्ने बाध्यता थियो। अहिले त्यो गलत सोच र संस्कार विस्तारै हट्दै गएको छ। अहिले महिलालाई अफिस जान हतार छ भने पुरुषले पनि सहयोग गर्ने अवस्थासम्म आइपुगेको छ। परिवर्तनहरू आएका छन्। सबैले आ–आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ। खाली आरोप प्रत्यारोप र गाली गलौज मात्र हुँदैन।

नेपालका महिलाको आर्थिक जीवनस्तर उकास्नका लागि धेरै एनजीओ र आईएनजीओ सञ्चालनमा छन्। तर दूरदराजमा नपुग्ने शहर केन्द्रित मात्र भए भन्ने आरोप छ नि ?
होला सबै दूरजराजमा पुगेका छैनन्। तर विभिन्न संघसंस्थाले गरेको कामले महिलाहरूको रूपान्तरण गर्नका लागि सहयोग नै पुर्याउँछ। एउटा संस्थाले गरेको कामको अनुभव अर्को संस्थामा लैजान्छौं। ती संघसंस्थाले जिल्लामा लैजान्छन्। देशको समग्र महिलाहरूको उत्थान गर्ने विषय र अगामी दिनमा गर्नुपर्ने योजनाको कुरा त सञ्जालमा बाँडिन्छन् नि? महिलाको पक्षमा गर्नुपर्ने नीतिगत काम गर्न सरकारलाई ध्यानाकर्षण गराउने। कृषि क्षेत्रलाई कसरी औद्योगिकीकरण गर्ने? गाउँघरमा भएका उत्पादनलाई कसरी बजार विस्तार गर्ने? ग्रामीण क्षेत्रमा रहेका महिलाहरूले त उत्पादनको काम मात्र गर्ने हो र उद्यमीले बजार विस्तार गर्ने हो।

नेपालबाट वैदेशिक रोजागारीमा जाने महिलाको संख्या पनि बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जाने महिलाको अवस्था कस्तो पाउनुभएको छ?
बाध्यता र परिस्थितिका कारण नेपाली महिलाहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्। जे उद्देश्य लिएर जान्छन् त्यो उद्देश्य नै प्राप्त गर्न गाह्रो हुन्छ। अनि फर्किएर आउँछन्। कतिले सीप विकास गरेर आउँछन्। ती महिलालाई उद्यमशील बनाउने सोच र योजना सरकारले बनाउन सकेको अवस्थामा पुनः फर्किर विदेश जाँदैनन्। यो संख्या घटाउने हाम्रो लक्ष्य हो। वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नीति निर्माण तहमै सुधार गर्नुपर्ने खाँचो छ। नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको अवस्था दयनीय छ। जस्तो, श्रीलंकाबाट वैदेशिक रोजगारीमा जाने महिलाको अवस्था निकै राम्रो छ। सरकारले नै तालिम दिएर प्रमाणपत्र दिन्छ। नेपाली महिलाभन्दा बढी तलब श्रीलंकाका महिलाले प्राप्त गर्छन्। वैदेशिक रोजगारीमा जानेलाई तालिम दिएर मात्र पठाउने व्यवस्था गर्नुपर्यो।

त्यसो भए कसरी महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ त?
लामो यात्रामा निस्किँदा यात्रा पाइलाबाट शुरू हुन्छ भनेझैं एकैपटक केही पनि प्राप्त हँुदैन। लगनशील र कामप्रति प्रतिबद्ध भएर लागे सानो लगानीबाटै ठूलठूला सफलता प्राप्त गर्न सकिन्छ। एउटा महिलाले सानो उद्योग सञ्चालन गर्दा पाँच÷सात जनाले रोजगारी पाउँछन्। यसरी नै काम गर्नुपर्छ भन्ने सोच र योजना हाम्रो हो। गरिबीलाई हटाउन केही हदसम्म सकिन्छ भन्ने लक्ष्य लिएका छौं। सकेसम्म उद्यमशील बनाउने नै हाम्रो उद्देश्य हो। कसरी साना मझौला उद्योग हुँदै ठूला उद्योग चलाउन सकिन्छ भन्ने हो। यसले देशको अर्थतन्त्रमा नै फरक पार्छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म निकै खुसी छु। असम्भव सम्मेलन सफल भएको छ। सार्क सम्मेलनका बारेमा बहस र विवाद भएको बेला के गर्नु खोज्नुभएको हो? भन्ने प्रश्न आयो। पाकिस्तान र भारतबाट पनि बारम्बार सोध्नुभयो। सार्क सम्मेलन नै स्थगित भएका बेलामा यो सम्मेलन हुन सक्दैन भन्ने धेरैको अनुमान थियो। यसको उद्देश्य नै फरक छ। सार्क राष्ट्रका सबै उपाध्यक्ष र बोर्ड सदस्यहरूले बुझ्नु भो। आठवटै देशबाट आउनुभयो। सफलतापूर्वक सम्मेलन सफल भयो। यो नेपालको पनि उपलब्धि हो।