रामकृष्ण शर्मा, गोरखा । भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा भइरहेको पुनर्निर्माणको गति र पद्दतिलाई लिएर आलोचनाका स्वरहरु चर्कै सुनिरहेको अवस्थामा केही गाउँठाउँका कथा भने अनुसरणयोग्य छन् । ती गाउँहरु साँच्चिकै सुरक्षित ढंगले पुनर्निर्माण भइरहेका छन् ।
सफल पुनर्निर्माणको उदाहरण बनेका ती गाउँ रातारात बनेका अवश्य होइनन् । पुनर्निर्माण अभियानको दौरान तालिमप्राप्त डकर्मीहरुको सामूहिक प्रयासको प्रतिफलस्वरुप ती गाउँहरु भूकम्प प्रतिरोधी बनेका छन् । ती गाउँको कथा अन्य क्षेत्रको लागि प्रेरणाको स्रोत त अवश्य हुन् । साथै उथ्थानशील समुदाय निर्माणको राष्ट्रिय योजनालाई साकार बनाउने उदाहरण पनि हुन् ।
दोलखा विगु गाउँपालिकाको सबैभन्दा उत्तरी भागमा एउटा गाउँ छ, विगु–ग्याल्बासिंह, जहाँ बस्छन् ५८ बर्षीय अक्कल बहादुर मगर । उनी पेशाले डकर्मी र सिकर्मी हुन् । गोरखा भूकम्पले उनको मात्रै होइन, गाउँभरका सबै घर ध्वस्त भए । अहिले उनी आफ्नो गाउँको पुनर्निर्माण लगभग सकेर अर्को गाउँको पुनर्निर्माणमा जुटिरहेका छन् । भूकम्प गएको ९ महिनापछि गाउँमा सञ्चालन भएको डकर्मी तालिममा सहभागी भएका उनले भूकम्प थेग्ने घर निर्माणको पद्दति र स्थानीय स्तरमा उपलब्ध भएका स्रोत साधनबाटै, ढुंगा माटो र काठको प्रयोगबाट पनि बलियो घर निर्माण गर्न सकिने कुरा थाहा पाए ।
उनीजस्तै अन्य १५ जना डकर्मीहरुले तालिमपश्चात एउटा समूह बनाए । आर्थिक रुपमा विपन्न रहेका उनीहरुले पालैपालो घर निर्माण गर्न थाले । घर निर्माण गर्दा लाग्ने जनशक्तिको लागि पैसा कसैले तिर्नु परेन किनकी उनीहरुले अर्मपर्मको अभियान चलाएका थिए । क्रमैसँग १५ जनाकै घर भूकम्प थेग्ने गरी निर्माण भयो । त्यहीं समूहले गाउँका अरु घरपनि क्रमैसँग पुनर्निर्माण गरेर सक्यो । दक्ष जनशक्तिको अभाव, निर्माण सामग्रीको अभाव जस्ता कुराहरुले केही ठाउँमा पुनर्निर्माणको प्रकृया असहज भइरहेको सन्दर्भमा त्यहाँ भने त्यहि डकर्मीको समूहले व्यवस्थापन गर्न सहजिकरण गरेर पुनर्निर्माणलाई सजिलो बनाइदियो । “हामी जस्तै अर्मपर्मबाट काम गरिरहेका थुप्रै तालिमप्राप्त अरु समूहहरु पनि छन्, जसले उत्तरी दोलखाको पुनर्निर्माणलाई साँच्चिकै राम्रो बनाएका छन्,” मगरले भने ।
विगु गाउँका अधिकाँश भूकम्प पीडित अहिले पुरानै जीवनशैलीमा फर्किसकेका छन् । कुनै समय घर पुनर्निर्माण गर्ने कुराको मात्रै पिरलो भएका उनीहरु अहिले खेती किसानी र अन्य पेशामा आवद्ध भइसकेका छन् । स्थानीय अन्तरी मगरले भनिन्, “तालिमप्राप्त पुरुषहरुले पर्म प्रणालीबाट घरहरु नबनाएको भए को कता को कता हुन्थे होलान्, सामूहिक काम गर्दा जे पनि चाँडै सकिन्छ र राम्रो पनि हुन्छ ।”
दोलखाको विगुमा रहेका अक्कलहरुको समूह मात्रै होइन, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पनि अर्मपर्मबाट घरहरु पुनर्निर्माण गरिरहेका थुप्रै गाउँहरु छन् । भूकम्प प्रतिरोधी भवन संरचना निर्माणका लागि तालिम लिएका डकर्मीहरुको समूहले पुनर्निर्माणलाई सजिलो त बनाएका छन् नै साथै सामूहिक रुपमा कर्म गर्ने नेपालीहरुको संस्कारलाई अझ प्रगाढ बनाएका छन् । ८ देखि १० जना डकर्मीहरुको त्यस्तो समूहले एउटा २ कोठे घर निर्माण गर्न कम्तिमा २० दिन लगाउने गरेका छन् । समूहमा आवद्ध डकर्मीको घर बनाउँदा ज्यामी खर्च भने लाग्दैन भने गाउँका अन्य घर बनाउँदा अन्यत्र भन्दा सस्तो दरमा पनि उनीहरु काम गर्ने गरेको त्यहाँ कार्यरत इन्जिनियरहरु बताउँछन् ।
हेर्न लायक बन्यो धादिङको तिप्लिङ
रुबीभ्याली गाउँपालिकामा पर्ने तिप्लिङ धादिङको सबैभन्दा उत्तरी गाउँ हो । जहाँका बासिन्दा भूकम्पले तहसनहस भएका घरहरु पुनर्निर्माण लगभग सकेर २०७२ बैशाख १२ अघिको जीवनशैलीमा फर्किसकेका छन् । उस्तै रंगका जस्ता र उस्तै प्रकृतिका घरहरुले त्यहाँको सुन्दरता बढाएका छन् । अमेरिकी सहायता नियोगको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाजले सञ्चालन गरेको बलियो घरको मोबाइल टोलीको नियमित सहयोग र प्राविधिक परामर्शमा गाउँ भूकम्प थेग्ने गरी पुनर्निर्माण भएको छ ।
बलियो घरबाट ७ दिनको डकर्मी तालिम लिएका स्थानीय विकास घले तालिमप्राप्त डकर्मीहरुको नाइके हुन् । घलेले भने, “सुरुमा त हामीलाई भूकम्प प्रतिरोधात्मक घर भन्ने कुरामा आश्चर्य लाग्थ्यो । तर डकर्मी तालिमपछि त्यो सबै सम्भव रहेछ । काठको बन्धन राखेर पनि भूकम्प थेग्ने घर बनाउन सकिँदो रहेछ भन्ने ज्ञान र सीप भयो । हाम्रो जस्तो डकर्मीका थुप्रै समूहहरु छन् जसले तिप्लिङलाई पुनर्निर्माण गर्न सजिलो बनाए । हाम्रो समूहको कुरा गर्नुपर्दा त घरभित्रैका बाबु छोरा, भतिज, भान्जा लगायत सबै डकर्मी छन् ।”
तामाङ दाजुभाईले बनाए सुरक्षित गुर्जे
नुवाकोटको गुर्जे काठमाडौंबाट जम्मा २२ किलोमिटर टाढा उत्तरमा पर्छ । गोरखा भूकम्पले त्यहाँको बस्तीमा रहेका लगभग सबै घर ध्वस्त भए । भिरालो भूभागमा अवस्थित गाउँ शिवपुरी गाउँपालिकाको पर्यटकीयस्थल पनि हो । पर्म प्रणालीबाट त्यहाँ रहेका तामाङ दाजुभाईले अहिले सुरक्षित गुर्जे गाउँ निर्माण गरेका छन् । भूकम्प पीडितलाई दिने सरकारी अनुदानको पहिलो किस्ता प्राप्त गरेपछि तालिम लिएका त्यहाँका तामाङ दाजुभाईले एउटा डकर्मीको समूह बनाए र पालैपालो घर पुनर्निर्माण गर्न थाले । सन्त बहादुर तामाङ सो समूहका नाइके डकर्मी हुन् ।
उनले भने, “हामी एउटा घरमा डिपीसी गरेर अर्को घर सुरु गरिहाल्थ्यौँ, फेरि त्यहाँको डिपीसी सुक्दै गर्दा पुरानो घरका ढोका लगाउने काम गथ्र्यौ, यसैगरी एकैपटक हामी ७ जनाको समूहले ५ वटा घर सँगै निर्माण गरेका थियौँ ।” सन्तको नेतृत्वमा रहेको समूह जस्तै गुर्जेमा अन्य तीन समूह पनि छन् उनीहरुले तल्लो गुर्जे पुनर्निर्माण गर्न भूमिका निर्वाह गरे । डकर्मीहरुको आपसी सद्भाव र सहकार्यबाट स्थानीय तह पनि खुशी देखिन्छन् । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा गाउँमा डकर्मीहरुको अभावमा सुरक्षित पुनर्निर्माण हुन नसकिरहेको बेला तामाङ दाजुभाई जस्ता समूहले गरेको कार्य प्रशंसनीय रहेको बताउँछन् ।
अर्मपर्म कृषि प्रधान नेपाली समाजमा प्रचलित प्रणाली हो । यसले गाउँघरमा सामाजिक सहष्णिुता र सद्भाव विकास गर्न मद्दत त पुर्याएको छ नै । साथै नेपालीहरु विपद्को बेला हातेमालो गर्दै अगाडी बढ्न सक्छन् भन्ने देखाएको यी केही उदाहरणले । भूकम्पीय सुरक्षाका काम गर्ने संस्था एनसेटका उप कार्यकारी निर्देशक डा. रमेश गुरागाईँ अर्मपर्मको कर्मलाई दीगो निर्माणसँग जोड्छन् । उनी भन्छन्, “यसले तत्काल त घरहरु पुनर्निर्माण भइरहेको देखाउँछ तर दीर्घकालीन रुपमा हेर्ने हो भने भूकम्पीय पुनर्निर्माणपछि बन्ने घर संरचनाहरु पनि यिनै डकर्मीहरुबाट बन्ने भएकाले भूकम्पीय प्रविधिको सुनिश्चिता हुन्छ । यसले समाजलाई दीगो रुपमा भूकम्प प्रतिरोधी बनाउन मद्दत पुर्याउँछ ।”
(शर्मा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा सञ्चार अधिकृत हुन्)
प्रतिक्रिया