स्कुल बनाइदेऊ भन्दै सडकमा विद्यार्थी

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
हातमा प्लेकार्ड बोकेर मार्मीङस्थित धनेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरु सडकमै निस्किए । निर्माणाधिन मध्यभोटेकोसी जलविद्युत आयोजनाले विद्यालय निर्माणको सम्झौता गरेपनि कार्यान्वयन नगरेपछि आइतबार यस विद्यालयका विद्यार्थीहरु नै हातमा प्ले कार्ड बोकेर चाकुबजार परिक्रमा गर्दै आयोजनाको सम्पूर्ण काम ठप्प पारीदए ।

स्कुले बालबालिकाको यो दवाव अभियानमा स्थानीयवासीले पनि साथ दिए अनि आयोजनाको साइटमै पुगेर काम रोकीदिए । हातमा प्ले कार्ड बोकेर सडकमा निस्किएका विद्यार्थीहरुको आवाज एउटै थियो,–स्कुल बनाइदेउ । ‘हाइड्रोपावरका कारण हामीले पढ्न नपाउने ?’, प्ले कार्ड बोकेर सडकमा निस्किएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी विश्व श्रेष्ठले भने,–केहि मागेको छैन, हामी पढ्ने स्कुल बनाइदेऊ ।’

बिद्यालय बनाइदेउ भन्दै सडकमा निस्किएका झण्डै एक सय विद्यार्थीकाबीचमा थिईन् कक्षा ८ मा अध्ययनरत आशिका तामाङ । मध्यभोटेकोसी जलविद्युत आयोजनाले विद्यालय निर्माणमा चासो नदेखाएपछि बाध्य भएर आफुहरु सडकमा निस्कनुपरेको उनी सुनाउँछीन् । ‘स्कुल बनाउने सम्झौता गरेर ६ वर्षसम्म बनाइदिएन, हामी टहरामा बसेर पढिरहेका छौं’, आशिकाले भनिन्,–‘बनाउँछु भनेको भवन त बनाइदिनुप¥यो नि ।’

–हाम्रो स्कुल कहिले बन्छ ?
–उज्यालो देऊ, उज्यालो ननिभाऊ !
–हाइड्रोका लागि हामीले पढ्न नपाउने ?

मध्यभोटेकोसीकै कारण आसपासमा विद्यालयका भव्य भवन बनिरहेपनि धनेश्वरी टहरामा चलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धीबहादुर श्रेष्ठले सुनाए । उसो त भूकम्पपछि विद्यालय भवन बनाइदिन्छु भन्दै संघसंस्था नआएका होइनन् । तर मध्यभोटेकोसीले जिम्मा लिएको सुइँको पाएपछि धेरै संघसंस्थाहरु धनेश्वरीबाट फर्कीए । ‘सम्झौता गरेको ६ वर्षसम्म आयोजनाले विद्यालयका लागि चासो देखाएन, हामीले पटक पटक अल्टिमेटम पनि दियौं’, अध्यक्ष श्रेष्ठले भने,–‘आसपासमा धेरै विद्यालयका भवन बने, मध्यभोटेकोसीका कारण यहाँ कुनै संघसंस्थाले हात हालेनन् ।’

भूकम्पमा विद्यालय भवन भत्किएपछि पालमुनि स्कुल संचालन गर्दासमेत आयोजनाले चासो नदेखाएको विद्यालयका प्रअ बलराम खरेल स्मरण गर्छन् । डेढ वर्षसम्म पालमै कक्षा संचालन गरिएको उनले सुनाए । ‘अस्थायी संरचना बनाइदेउ भनेर पटक पटक भनेपछि उनीहरुले यो ट्रष्ट बनाइदिए’, हाल कक्षा संचालन भइरहेको अस्थायी संरचना देखाउँदै प्रअ खरेलले भने । विद्यालय भवनको अभाव एकातिर छँदैछ, विद्यालय समयमा नै आयोजनको काम भइरहँदा दैनिक पठनपाठनमा समेत प्रभाव परेको उनले बताए । ‘ब्लास्टीङ गर्दा स्कुलका छानामै ढुंगा बर्सिन्छ’, प्रअ खरेलले भने ।

विनाशकारी भूकम्पमा भवन भत्कियो, मध्यभोटेकोसी जलविद्युत आयोजनाले विद्यालय निर्माणको सम्झौता मात्र ग¥यो, निर्माणको काम नै सुरु गरेन । मार्मीङस्थित धनेश्वरी माध्यमिक विद्यालय साढे तिन वर्षदेखि अस्थायी संरचना(ट्रष्ट) मा सञ्चालित छ । खानेपानी छैन, न त छात्राहरुका लागि छुट्टै शौचालय नै छ । खानेपानीको अभाव र छात्रा शौचालय नहुँदा विद्यार्थी संख्या घट्दो रहेको विद्यालयका शिक्षक मिङमार लामा बताउँछन् ।

पटक पटक बार्ता र संवाद गर्दा पनि आयोजनाले विद्यालय भवन र अन्य सामाजिक संरचना निर्माणमा वेवास्ता गरिरहेको भोटेकोसी गाउँपालिका–५ का वडाध्यक्ष सुप्पा लामा बताउँछन् । सम्झौता अनुसार अधिग्रहणमा पर्ने विद्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र लगायतका भवन निर्माणमा आयोजनाले आलटाल गरिरहेकाप्रति वडाध्यक्ष लामाले आक्रोश व्यक्त गरे । ‘मसानघाटसम्म बनाइदिएन, मान्छे मर्दा कहाँ लैजाने थाहा छैन’, वडाध्यक्ष लामाले भने ।