झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस

0
Shares

बनियानी (झापा), ९ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन २१ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस परेको छ ।

निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा दलहरुलाई उम्मेदवार छान्न अझ हम्मेहम्मे परेको हो ।

नेकपा(माओवादी केन्द्र)ले अधिकांश स्थानीय तहमा उम्मेदवार सिफारिस गरे पनि केही ठाउँमा अझै कुरा नमिलेको जनाएको छ । ‘‘कतै प्रमुखमा कुरा मिल्छ, उपप्रमुखमा मिल्दैन त कतै उपाध्यक्षमा मिल्छ त कतै अध्यक्षमा मिल्दैन’’, उक्त दलका जिल्लासंयोजक मणिकुमार साम्पाङ भन्नुहुन्छ, ‘‘तर, अब धेरै समय लाग्दैन, दुई÷चार दिनभित्र सबै स्थानका उम्मेदवार तोक्ने गरी तयारी भइरहेको छ ।’’

“नेपाली काँग्रेसले भने अझैसम्म एउटा पनि स्थानीय तहका उम्मेदवार सिफारिस गर्न सकेको छैन । ‘‘काँग्रेस ठूलो पार्टी हो, त्यसै पनि आकांक्षी धेरै छन् ” जिल्लासभापति उद्धव थापा भन्नुहुन्छ, ‘‘उम्मेदवार टुङ्ग्याउन नै दिनरात नभनी लागिपरेका छौँ । एकै पटक सबै स्थानका उम्मेदवार घोषणा गर्ने तयारी भएकाले टुङ्गिएको ठाउँको पनि नाम सार्वजनिक नगरिएको हो । ’’

नेकपा एमालेले पनि हालसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जिल्ला अध्यक्ष चिन्तन पाठकका अनुसार उम्मेदवार टुङ्ग्याउने पार्टीभित्र आन्तरिक तयारी छ ।

अन्य पार्टीले उम्मेदवार टुङ्गो लगाउन नसके पनि राप्रपाले भने यहाँका १५ वटै स्थानीय तहमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

माओवादीका तर्फबाट विर्तामोड नगरपालिकाका उम्मेदवारका आकांक्षी सिपी कडरियाले पार्टीले उम्मेदवार सिफारिसमा ढिलो गरेकाले चुनावी तयारीमा लाग्न उम्मेदवारलाई समस्या भएको बताउनुहुुन्छ ।

“एकपटक सबै मतदाताको घरमा गएर भोट माग्न जानुपर्छ”, उहाँ भन्नुहुन्छ, ‘‘ढिलो नाम सिफारिस हुँदा उम्मेदवारले हार्ने सम्भावना हुन्छ ।’’ चु्नावका लागि थोरै समय बाँकी रहेकाले तुरुन्त सबै तहमा उम्मेदवारको नाम घोषणा गर्नुपर्नेमा प्रतिस्पर्धी कडरीया जोड दिनुहुन्छ ।

यता, पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै झापावासी मतदानका लागि खुशी भएका छन् । भद्रपुर नगरपालिका भानुचोकका २७ वर्षीय आशिष पौडेल आफू चुनावमा सहभागी हुन आतुर रहेको बताउनुहुन्छ ।

भद्रपुर नगरपालिका–७ की पूर्णिमा शर्मा पनि मतदानका लागि आतुर हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘असल र इमान्दार जनप्रतिनिधि छान्ने अवसर आएको छ, यसको सपदुयोग गर्छु ।’ आफ्नो ठाउँको विकास गर्ने खालको मान्छे छानेर भोट हाल्ने तयारीमा रहेको उहाँ बताउनुहुन्द्धछ । रासस