क्यानडा ।
क्यानडाको अल्बर्टा प्रान्तस्थित व्याइनराइट सैन्य बेसमा शनिबार भएको भीषण आगलागीमा केही व्यक्तिको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। आगलागीको कारण खुलेको छैन। अधिकारीहरूले घटनालाई गम्भीर प्रकृतिको बताएका छन्। क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले भिडियो वक्तव्य जारी गर्दै घटनामा मानवीय क्षति भएको पुष्टि गरेका हुन्। उनले मृतक र घाइतेको यकिन संख्या तथा आगलागीको प्रारम्भिक कारणबारे विस्तृत जानकारी दिएका छैनन्। घटनाको अनुसन्धान चाँडै सुरु गरिने उनले बताएका छन्। प्रधानमन्त्री मार्क कार्नीले पनि सैन्य बेसमा भएको घटनालाई गम्भीर प्रकृतिको भन्दै पुष्टि गरेका छन्।
तर घटनाको वास्तविक कारणबारे सरकारले औपचारिक विवरण सार्वजनिक गरेको छैन। तीव्र हावाले आगो फैलियो अल्बर्टा प्रान्तको पूर्वी क्षेत्रमा पर्ने व्याइनराइट नगरस्थित सैन्य बेसमा शनिबार अपराह्न आगलागी भएको थियो। स्थानीय रोयल क्यानडियन माउन्टेड प्रहरीले अपराह्न करिब ४ बजे घटनाबारे सहायता मागिएको जनाएको छ। स्थानीय प्रशासनका अनुसार तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिएको थियो। शनिबार राति अबेरसम्म आगो नियन्त्रणमा राखिएको जानकारी दिइए पनि सुरक्षाकर्मी तथा दमकल टोलीले प्रभावित क्षेत्रमा निगरानी जारी राखेका थिए। घटनास्थलमा क्यानडाली सशस्त्र सेना, संघीय सरकार, प्रान्तीय सरकार र स्थानीय निकायले संयुक्त रूपमा उद्धार तथा राहत कार्य अघि बढाएका छन्। अस्पतालहरूमा आपत्कालीन प्रोटोकल आगलागीपछि घाइतेको उपचार व्यवस्थापन गर्न अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा अस्पतालहरूले आपत्कालीन तयारी बढाएका छन्। क्यानडाको सार्वजनिक प्रसारण संस्था सीबीसीका अनुसार एडमन्टनस्थित रोयल एलेक्जान्ड्रा अस्पतालका आकस्मिक विभागका चिकित्सक डा. वारेन थिर्स्कलाई उद्धृत गर्दै ठूलो संख्यामा बिरामी आउने अवस्थाका लागि प्रयोग गरिने ‘कोड अरेन्ज’ घोषणा गरिएको छ।
थिर्स्कले व्याइनराइट क्षेत्रका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप अत्यधिक बढेको बताएका छन्। उपचारका लागि बिरामीलाई एडमन्टनका विभिन्न अस्पतालमा पठाउन थालिएको छ। घटनामा घाइते हुनेको संख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन। क्यानडाकै व्यस्त सैन्य प्रशिक्षण केन्द्रमध्ये एक व्याइनराइट सैन्य बेस अल्बर्टा प्रान्तको राजधानी एडमन्टनबाट करिब २१० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ। यो क्यानडाको व्यस्त सैन्य बेसमध्ये एक हो। सरकारी विवरणअनुसार यहाँ क्यानडियन म्यानुभर ट्रेनिङ सेन्टर र थर्ड क्यानडियन डिभिजन ट्रेनिङ सेन्टर सञ्चालनमा छन्।
एडमन्टनमा आधारित स्थलसेनाका विभिन्न सैन्य एकाइले पनि यस क्षेत्रमा तालिम लिने गरेका छन्। सैन्य बेसमा भएको घटनाको प्रकृति, आगलागी कसरी सुरु भयो र त्यसबाट सैन्य संरचना तथा उपकरणमा कति क्षति पुग्यो भन्नेबारे आधिकारिक विवरण आउन बाँकी छ। प्रधानमन्त्रीदेखि विपक्षी नेतासम्मको चासो अल्बर्टाकी प्रिमियर ड्यानियल स्मिथले घटनालाई गम्भीर र दुःखद भन्दै यसबाट सैन्य कर्मचारी प्रभावित भएको बताएकी छन्। त्यस्तै, विपक्षी नेता पियरे पोइलिभ्रेले रक्षामन्त्री म्याकगिन्टी र प्रधानमन्त्री कार्नीसँग घटनाबारे कुराकानी गरेको जनाएका छन्।
उनले उद्धार तथा आपत्कालीन सेवामा खटिएका कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै व्याइनराइटका प्रभावित नागरिक तथा सैन्य कर्मचारीको सुरक्षाका लागि प्रार्थना गर्न आह्वान गरेका छन्। रक्षामन्त्री म्याकगिन्टीले आफ्नो मन्त्रीकालमा यस्तो प्रकृतिको घटना सम्झन नसकेको बताएका छन्। स्थानीयलाई प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह स्थानीय प्रशासनले घटनास्थल आसपासका सडक खाली राख्न, प्रभावित क्षेत्रमा नजान र अत्यावश्यक स्वास्थ्य समस्या नभएसम्म व्याइनराइट स्वास्थ्य केन्द्रमा नपुग्न सर्वसाधारणलाई आग्रह गरेको छ। हालसम्म स्थानीय बासिन्दाका लागि औपचारिक रूपमा स्थानान्तरण आदेश जारी गरिएको छैन। आगलागीको कारण पत्ता लगाउन अनुसन्धानको तयारी भइरहेका बेला अधिकारीहरूले घटनाको विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।











प्रतिक्रिया