वासिङ्टन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाको कानुनी योग्यतामाथि प्रश्न उठेपछि ह्वाइट हाउसले उनको बचाउ गरेको छ। जकारियाले आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आए पनि अमेरिकामा कानुन व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेको विषयमा विवाद उत्पन्न भएको हो।
मंगलबार पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले जकारियालाई अमेरिकाको कुन राज्यमा कानुन व्यवसाय गर्न आवश्यक पर्ने बार परीक्षा उत्तीर्ण गरेको भनेर प्रश्न गरेका थिए। जवाफमा उनले आफू चीन गएको बताइन्। पछि उनले पत्रकार सम्मेलनमा भएको होहल्लाका कारण प्रश्न गलत बुझेको र कानुन अध्ययनपछि आफू कहाँ गएको भन्ने प्रश्न ठानेको स्पष्ट पारेकी थिइन्।
बार परीक्षा उत्तीर्ण गरेको विषयमा विवाद
जकारियाले सन् २०११ मा क्यालिफोर्नियास्थित पेपरडाइन विश्वविद्यालयबाट कानुन अध्ययन गरेकी थिइन्। तर अमेरिकामा कानुनको डिग्री प्राप्त गर्दैमा कानुन व्यवसाय गर्ने अनुमति स्वतः प्राप्त हुँदैन। द वाल स्ट्रिट जर्नलका अनुसार उनले क्यालिफोर्नियाको बार परीक्षा दिए पनि उत्तीर्ण गर्न सकेकी थिइनन्।
जकारियाले भने चीनमा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी कानुनमा काम गरेको र आवश्यक योग्यता रहेको दाबी गर्दै आएकी छन्। उनको लिंक्डइन प्रोफाइलअनुसार उनी सन् २०११ देखि २०१३ सम्म बेइजिङस्थित एक कानुन फर्ममा आबद्ध थिइन्।
चीनमा विदेशी नागरिकले स्थानीय वकिलका रूपमा कानुन व्यवसाय गर्न नपाउने भए पनि कानुन फर्ममा अन्य भूमिकामा काम गर्न सक्ने व्यवस्था छ।
अनुसन्धानको माग गर्दै उजुरी
यस विषयले थप चर्चा पाएपछि बुधबार ‘क्याम्पेन फर एकाउन्टेबिलिटी’ नामक निगरानी संस्थाले क्यालिफोर्निया स्टेट बारमा उजुरी दर्ता गराएको छ। संस्थाले जकारियाले कानुन व्यवसाय गर्ने इजाजतपत्र नभए पनि आफूलाई त्यसका लागि योग्यका रूपमा प्रस्तुत गरेको हुन सक्ने आरोप लगाउँदै अनुसन्धान गर्न माग गरेको हो।
जकारियाले द न्युयोर्क टाइम्ससँग कुरा गर्दै आफू टेलिभिजनमा देखा पर्न थालेपछि पेपरडाइन विश्वविद्यालयसँग आफ्नो परिचय कसरी दिने भनेर सोधेको बताएकी छन्। उनका अनुसार विश्वविद्यालयका अध्यक्षले आफूलाई ‘वकिल’ भन्न सक्ने तर ‘अटर्नी’ भन्न नसक्ने बताएका थिए।
ह्वाइट हाउसले गर्यो बचाउ
विवाद चर्किएपछि ह्वाइट हाउसले जकारियाको बचाउ गरेको छ। सञ्चार निर्देशक स्टिभन चेउङले उनलाई ‘उच्च योग्य र तीक्ष्ण’ व्यक्तिका रूपमा वर्णन गरेका छन्।
जकारियाले चीनमा रहँदा अन्तर्राष्ट्रिय वित्त निगम र विश्व बैंकका लागि बाह्य कानुनी सल्लाहकारका रूपमा समेत काम गरेको दाबी गरेकी छन्। यस विषयमा बीबीसीले सम्बन्धित संस्थाहरू र चिनियाँ कानुन फर्मसँग प्रतिक्रिया मागेको जनाएको छ।
जकारियाको कानुनी योग्यतासम्बन्धी विवादबारे सम्बन्धित निकायबाट अनुसन्धान वा थप आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ। -बीबीसी














प्रतिक्रिया