काठमाडौं।
नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई थप सहज र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि उपलब्ध यो कार्ड एनबैंक मोबाइल एपमार्फत आवेदन दिएर प्राप्त गर्न तथा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया पूरा नगरी एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। बैंकको आन्तरिक तथ्यांकमा आधारित विश्लेषण प्रणालीबाट योग्य ठहरिएका ग्राहकले एपमा उक्त विकल्प स्वतः देख्नेछन्।
पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो कार्ड फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्न प्रयोग गर्न सकिनेछ। यसबाट फोनपे मर्चेन्ट क्यूआर स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा ग्राहकले सहज र सुरक्षित रूपमा कारोबार गर्न सक्ने बैंकले जनाएको छ।
फोनपेसँगको सहकार्यमा नयाँ सेवा
भर्चुअल क्रेडिट कार्ड सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सहकार्यले डिजिटल भुक्तानीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहककेन्द्रित बैंकिङ सेवा र नवप्रवर्तनमा बैंकको प्रतिबद्धता दोहोर्याए।
उनले डिजिटल युगको आवश्यकताअनुसार ग्राहकलाई बैंक शाखामा उपस्थित नभई सेवा उपलब्ध गराउने दिशामा बैंकले काम गरिरहेको बताए। ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ पनि सोही प्रयासको महत्त्वपूर्ण हिस्सा भएको उनको भनाइ छ।
बैंकले डिजिटल वित्तीय सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै नयाँ सेवा सुरु गरेको जनाएको छ। यसले ग्राहकलाई मोबाइल एपबाटै कर्जा सुविधामा पहुँच पुर्याउनुका साथै भुक्तानी प्रक्रियालाई सरल बनाउने बैंकको अपेक्षा छ।
२८ लाखभन्दा बढी ग्राहकलाई सेवा
चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकले एनबैंकमार्फत प्रविधिमा आधारित वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकका अनुसार देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंकसँग २८ लाखभन्दा बढी ग्राहक छन्। आगामी दिनमा पनि ग्राहकको वित्तीय पहुँच, सुविधा र बैंकिङ अनुभव सुधार गर्ने उद्देश्यले नवीन डिजिटल सेवा विस्तार गर्दै जाने बैंकले जनाएको छ।














प्रतिक्रिया