बुटवल ।
रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन ।
रूपन्देही उद्योग संघको सोमबार बुटवलमा सम्पन्न ४८औँ साधारणसभामा सहभागी उद्योगीहरूले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक रहेको बताएका छन । कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै स्थानमा कर तिर्नुपरेको, उद्योग विस्तारका लागि पर्याप्त जग्गा उपलब्ध नभएको तथा नीतिगत जटिलताका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गर्नुभएको थियो । वहाँले स्वदेशी उद्योगीलाई टिकाउने नीति बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
साधारणसभाको उद्घघाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले उद्योगीका समस्या तीनै तहका सरकारसँग जोडिएको बताउनुभयो । वहाँले रूपन्देही औद्योगिक क्षेत्रको केन्द्र तथा अर्थतन्त्रको जग भएको उल्लेख गर्दै उद्योग बलियो नभएसम्म सम्बन्धित क्षेत्रको विकास सम्भव नहुने धारणा राख्नुभयो । वहाँले केही नीतिगत समस्याका कारण उद्योगीहरूले कठिनाइ भोग्नुपरेको बताउँदै बैंकको ब्याजदर घटे पनि उद्योगीहरूले सहज रूपमा ऋण प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो । सफल उद्योगीहरूमाथि भएका गलत व्यवहारले निजी क्षेत्रको मनोबल कमजोर बनाउँदै लगेको वहाँको भनाइ थियो ।
उद्योगबाट हुने प्रदूषण नियन्त्रणका लागि आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने र स्थानीय समुदायले पनि औद्योगिक गतिविधि तथा त्यसको व्यवस्थापनबारे बुझ्नुपर्ने वहाँको भनाइ थियो ।रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा अपेक्षित आर्थिक प्रजातन्त्र स्थापित हुन नसकेको बताउनुभयो ।वहाँले अन्तर्राष्ट्रिय राजनीतिक समस्याका कारण मूल्यवृद्धि बढेको र बजारमा अस्थिरता देखिएको उल्लेख गर्नुभयो । सरकारले चाहेजस्तो सेवा दिन नसकेको स्वीकार गर्दै वहाँले विगतमा देखिएका धेरै समस्या समाधानको प्रक्रियामा रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले वन स्रोतको उपयोग गर्न नपाइएको तथा बधशाला सञ्चालनसम्बन्धी विषय अदालतमा पुगेपछि संरचना प्रयोगविहीन भएर खण्डहर बन्न पुगेको उल्लेख गर्नुभयो ।संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुमन बस्यालले गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।











प्रतिक्रिया