ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी


काठमाडौँ।

ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गर्नुभएको थियो। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध उहाँले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायतका जिम्मेवारी सम्हालिसक्नुभएको छ।

रेग्मी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुनुहुन्छ। उहाँले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गर्नुभएको छ।

ग्लोबल आइएमई बैंकले रेग्मीको अनुभव र कार्यदक्षताले बैंकको आगामी कार्यसम्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।