ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा


काठमाडौँ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। उहाँ यसअघि बैंकमा नायब महाप्रबन्धक तथा प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत हुनुहुन्थ्यो।

बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव भएका अकेला सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट बैंकिङ करिअरमा प्रवेश गर्नुभएको थियो। सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध उहाँले जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका क्षेत्रमा जिम्मेवारी सम्हालिसक्नुभएको छ।

उहाँले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गर्नुभएको छ। साथै, बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ।

अकेलाको अनुभव तथा कार्यदक्षताले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।