काठमाडौँ।
एभरेष्ट बैंक लिमिटेडले आफ्ना डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकलाई भारतको प्रतिष्ठित मेदान्त अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण गराउँदा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ।
यससम्बन्धी सम्झौता बैंक र भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) बीच भएको बैंकले जनाएको छ। सम्झौतापछि एभरेष्ट बैंकका कार्डवाहक ग्राहकले नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ शाखामा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।
बैंकका अनुसार अस्पतालको ओपीडी सेवाअन्तर्गत डाक्टरको परामर्श, प्रयोगशाला तथा रेडियोलोजी सेवामा छुट लागू हुनेछ। त्यस्तै, आईपीडीअन्तर्गत बेड भाडा, प्रयोगशाला तथा रेडियोलोजी सेवाका साथै मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा समेत छुट उपलब्ध हुनेछ।
यो सुविधा लिनका लागि ग्राहकले अस्पतालको बिल एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। अस्पतालमा उपलब्ध सम्बन्धित सेवामा मात्र लागू हुने यो छुटले बैंकका ग्राहकलाई भारतमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बैंकको विश्वास छ।
बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य तथा सेवामूलक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ।











प्रतिक्रिया