काठमाडौँ।
महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याउने भएको छ।
ग्राहकलाई सहज, सुरक्षित र नगदरहित बैंकिङ कारोबारतर्फ आकर्षित गर्ने तथा डिजिटल भुक्तानीको प्रयोग बढाउने उद्देश्यले बैंकले उक्त योजना ल्याएको जनाएको छ।
योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले प्रत्येक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।
बैंकका अनुसार डेबिट कार्डवाहक ग्राहकले दराज नेपालबाट न्यूनतम १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन्।
यो योजना प्रत्येक सोमबार मात्र लागू हुने बैंकले जनाएको छ। छुट सीमित संख्यामा उपलब्ध हुने र ‘पहिले आउनेलाई प्राथमिकता’का आधारमा प्रदान गरिने भएकाले ग्राहकले समयमै योजनाको लाभ लिनुपर्ने बैंकको भनाइ छ।
बैंकले यस्ता योजनामार्फत कार्ड तथा डिजिटल भुक्तानीबाट हुने कारोबारलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ। साथै, आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तारसँगै ग्राहकलाई दैनिक कारोबारमा सुविधा, बचत तथा थप मूल्य प्रदान गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।











प्रतिक्रिया