काठमाडौँ।
नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)को आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न भएको छ।
‘Creativity Connect, where it all starts’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनशीलता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।
विगतका वर्षमा कृति अवार्ड्सका क्रममा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड तथा प्रशासनिक विषयमा जानकारी गराउन ‘एजेन्सी ब्रीफिङ सेसन’ आयोजना हुँदै आएको थियो। यस वर्ष भने गैर–सदस्य एजेन्सीलाई समेत सहभागी गराउँदै कार्यक्रमलाई ‘कृति कनेक्ट’का रूपमा विस्तार गरिएको आनले जनाएको छ।
कार्यक्रममा नेपाली विज्ञापन उद्योगका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले कृति अवार्ड्सका विविध पक्षबारे जानकारी गराएका थिए।

आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र यसको महत्वबारे धारणा राखेका थिए। त्यस्तै, आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले यस वर्ष आयोजना हुन लागेको कृति अवार्ड्सको १३औँ संस्करणका विभिन्न पक्षबारे जानकारी दिएका थिए।
हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स जित्न सफल मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड प्राप्त गर्न आवश्यक तयारी, सिर्जनात्मक प्रस्तुति तथा प्रस्तुतिकरणका विषयमा सहभागीलाई जानकारी गराएका थिए।
कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय तथा सिर्जनात्मक बजारीकरणका विभिन्न आयाममा केन्द्रित छलफलसमेत गरिएको थियो। छलफलमा विज्ञापन क्षेत्रको वर्तमान अवस्था, सिर्जनशीलता तथा आगामी सम्भावनाका विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रमको समापनका क्रममा आनका अध्यक्ष सुदीप थापाले ‘कृति कनेक्ट’ जस्ता कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले उद्योगमा पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
यस वर्षको रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को मुख्य प्रायोजकमा Red Bull रहेको छ। त्यस्तै, इनमार्क इन्डिया एन्ड एसोसिएट्स इन्फ्लुएन्सर एजेन्सीका रूपमा जोडिएको छ भने GMW Ora, Coca-Cola र Yeti International College ‘Powered by’ प्रायोजकका रूपमा रहेका छन्।
त्यसैगरी Ncell, Prime Tiles लगायत विभिन्न प्रतिष्ठित ब्रान्डहरू ‘Supported by’ प्रायोजकका रूपमा कृति अवार्ड्ससँग जोडिएका छन्।











प्रतिक्रिया