काठमाडौँ।
एनआईसी एशिया बैंकका ग्राहकले टोयोटा ब्रान्डका विभिन्न सवारी साधन खरिद गर्दा विशेष ब्याजदर तथा अन्य सुविधा पाउने भएका छन्।
यसका लागि एनआईसी एशिया बैंक र काठमाडौँस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालमा टोयोटा ब्रान्डका सवारी साधनको बिक्री तथा वितरण गर्दै आएको कम्पनी हो।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत (खुद्रा व्यवसाय) अमित केसी र युनाइटेड ट्रेडर्स सिन्डिकेटका उपमहाप्रबन्धक रेखा शाह कार्कीले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार टोयोटा ब्रान्डका सवारी साधन खरिद गर्ने ग्राहकले परिवर्तनशील ब्याजदरमा कर्जा लिन चाहेमा औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, स्थिर ब्याजदरमा कर्जा लिन चाहने ग्राहकका लागि ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकले प्रशासनिक सेवा शुल्कमा २५ प्रतिशत छुट समेत पाउनेछन्। सवारी साधन कर्जा प्रक्रिया छिटो तथा सहज रूपमा सम्पन्न गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
समझदारीमार्फत बैंकका ग्राहकलाई टोयोटा ब्रान्डका विभिन्न सवारी साधन खरिद गर्न सहज हुने बैंकको भनाइ छ।











प्रतिक्रिया