फ्लाइदुबई विमानमा पाइलटमाथि चक्कु प्रहार, दुर्घटना गराउने प्रयास भएको नेतन्याहूको दाबी


काठमाडौँ।

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको एउटा यात्रुवाहक विमानमा पाइलटहरूबीच विवाद भएपछि एक पाइलटले अर्का पाइलटमाथि धारिलो हतियार प्रहार गरेको घटना सार्वजनिक भएको छ। घटनापछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्रारम्भिक जानकारीअनुसार आक्रमण गर्ने पाइलटले विमान दुर्घटना गराउने उद्देश्य राखेको हुन सक्ने बताएका छन्। उनका अनुसार घटनापछि एक यात्रु र चालकदलका एक सदस्यले ककपिटको ढोका खोलेर भित्र प्रवेश गरी आक्रमण गर्ने पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।

त्यसपछि चालकदलका अर्का सदस्यले विमानको नियन्त्रण सम्हालेका थिए। आक्रमणमा संलग्न पाइलटलाई पक्राउ गरिएको नेतन्याहूले बताएका छन्।

इजरायलका रक्षामन्त्रीले पनि प्रारम्भिक संकेतले उक्त घटना ‘जिहादी आतंकवादी हमलाको प्रयास’ हुन सक्ने बताएका छन्। उनले विमानलाई नियन्त्रणमा लिन सहयोग गर्ने यात्रुहरूको प्रशंसा गरेका छन्। यद्यपि, घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तेल अभिभका लागि उडेको फ्लाइदुबईको उडान नम्बर FZ1073 मा करिब १५० जना यात्रु सवार थिए। तीमध्ये अधिकांश इजरायली नागरिक रहेको बताइएको छ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४का अनुसार विमानले उडान भरेको करिब दुई घण्टापछि आपत्कालीन संकेत पठाएको थियो। त्यसको केही मिनेटपछि संकेत परिवर्तन गरी विमान अपहरणमा परेको जनाउने कोड पठाइएको थियो। तर केही समयपछि पुनः सामान्य आपत्कालीन संकेतमा फर्काइएको थियो।

विमान इजरायलको बेन–गुरियन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर पाइलटहरूबीच विवाद उत्पन्न भएपछि विमान आफ्नो निर्धारित मार्गबाट मोडिएर साउदी अरबको तबुकतर्फ पुगेको बताइएको छ।

‘चक्कु प्रहार भएको’ यात्रुको दाबी

इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको जनाएका छन्। विमानमा रहेका केही यात्रुले पनि उडानकै क्रममा धारिलो हतियार प्रयोग भएको बताएका छन्।

फ्लाइदुबईका प्रवक्ताले विमानभित्र उडानका क्रममा एउटा घटना भएको पुष्टि गरेका छन्। तर घटनाको विस्तृत विवरण भने तत्काल सार्वजनिक गरेका छैनन्।

उनले सम्बन्धित निकायसँग समन्वय गरेर आफ्ना टोलीले काम गरिरहेको र थप जानकारी प्राप्त भएपछि अद्यावधिक गरिने बताएका छन्।

दुई मिनेटमै १७ हजार फिट तल झर्‍यो विमान

फ्लाइटराडार२४को तथ्यांकअनुसार विमानले आपत्कालीन संकेत पठाएपछि छोटो समयमै तीव्र गतिमा उचाइ घटाएको देखिएको छ। यूटीसी ०५:२१ बजेतिरको विवरणअनुसार विमान दुई मिनेटभन्दा कम समयमा करिब १७ हजार फिट अर्थात् ५ हजार मिटरभन्दा बढी तल झरेको थियो।

विमान केही समय जोर्डनको आकाशमा प्रवेश गरे पनि त्यसपछि पुनः साउदी अरबतर्फ फर्किएको थियो। साउदी अरबको आकाशमा पुगेपछि विमान अवतरणका लागि तल झरेको देखिएको फ्लाइटराडार२४को तथ्यांकमा उल्लेख छ।

विमान निर्धारित मार्गबाट अचानक मोडिएपछि इजरायली अधिकारीहरूले आपत्कालीन छलफल गरेका थिए। प्रतिक्रियास्वरूप इजरायली वायुसेनाले लडाकु विमानसमेत परिचालन गरेको बताइएको छ।

प्रधानमन्त्री नेतन्याहूले स्थिति नियन्त्रणमा रहेको जनाउँदै साउदी अरबमा रहेका इजरायली यात्रुहरूलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताएका छन्।