लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१ लाख ५७ हजार सहयोग


काठमाडौँ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख ५७ हजार ४ सय १८ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले गत भदौ १० गते रसुवालगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ।

भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न सहयोग पुग्ने उद्देश्यले कम्पनी तथा त्यहाँ कार्यरत कर्मचारीहरूको तर्फबाट रकम संकलन गरी राहत कोषमा प्रदान गरिएको हो।

कम्पनीका अनुसार विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको हो। रकममा कम्पनीको योगदानसँगै कर्मचारीहरूको व्यक्तिगत सहयोगसमेत समावेश रहेको जनाइएको छ।

लक्ष्मी सनराइज क्यापिटलले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।