रमाडा इटहरीमा पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना हुँदै


काठमाडौँ।

रमाडा बाइ विन्डह्याम इटहरीले दशैंको अवसरमा पाँचदिने ‘दशैं होम कमिङ कार्निभल’ आयोजना गर्ने भएको छ। पूर्वी नेपालको संस्कृति, स्थानीय स्वाद, संगीत तथा प्रतिभालाई समेटेर आयोजना गर्न लागिएको कार्निभल अक्टोबर ६ देखि १० सम्म इटहरीस्थित आरिया लनमा सञ्चालन हुनेछ।

Drishya See the Unseen को सहकार्यमा आयोजना हुने कार्निभलमा प्रत्येक दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रममा स्थानीय कलाकारको लाइभ प्रस्तुति, स्थानीय परिकारका लाइभ फुड स्टेसन, फेस पेन्टिङलगायतका गतिविधि रहने आयोजकले जनाएको छ।

कार्निभलको पहिलो दिन अक्टोबर ६ मा प्याराडाइज नेपालको प्रस्तुति रहनेछ। अक्टोबर ७ मा हाम्रो आवाज, अक्टोबर ८ मा रोयस तामाङ र अक्टोबर ९ मा प्रविन राईले प्रस्तुति दिनेछन्। यी चार दिनको प्रवेश शुल्क प्रतिव्यक्ति १ हजार ६ सय रुपैयाँ तोकिएको छ।

कार्निभलको मुख्य आकर्षणका रूपमा अक्टोबर १० मा साइग्रेससँग विशेष मीट एण्ड ग्रीट कार्यक्रम आयोजना गरिनेछ। सोही दिन नीलो धागो, बाँसुरी र आस्था बराइलीको लाइभ प्रस्तुति पनि रहनेछ। समापन दिनको प्रवेश शुल्क १ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।

दशैंका बेला घर फर्किने र परिवार तथा आफन्तसँग पुनर्मिलन हुने भावनालाई केन्द्रमा राखिएको कार्निभलले पूर्वी नेपालको स्थानीय संस्कृति, संगीत, खानाका परिकार र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने आयोजकको भनाइ छ।

रमाडा बाइ विन्डह्याम इटहरी पूर्वी नेपालको प्रमुख व्यावसायिक केन्द्र इटहरीमा रहेको होटल हो। होटलमा ८१ वटा कोठा तथा सुइटसँगै विभिन्न भोजन स्थल, ब्यान्क्वेट हल, ओपन लन, स्विमिङ पुल तथा फिटनेस सेन्टरलगायतका सुविधा उपलब्ध रहेको जनाइएको छ।