एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५% लाभांश प्रस्ताव पारित


काठमाडौँ।

एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार सम्पन्न सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै उक्त लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिबाट अनुमोदन गरेको हो। १० प्रतिशत नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाबाट सर्वसम्मतिले पारित भएको छ।

साधारण सभाबाट पारित लाभांश तथा अन्य प्रस्ताव कार्यान्वयनका लागि सम्बन्धित नियामकीय प्रक्रिया पूरा गरिने बैंकले जनाएको छ।