काठमाडौं।
नेपालमा खेलकुद तथा फेसन सामग्रीको बिक्री तथा ब्रान्ड व्यवस्थापन गर्दै आएको ब्रान्डहाउस नेपालले अनलाइन व्यापार सेवा सुरु गरेको छ।
कम्पनीले आफ्नो नयाँ अनलाइन व्यापारिक माध्यम ‘ब्रान्डहाउस डट कम डट एनपी’ सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार यसमार्फत नेपालभरका ग्राहकले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मौलिक तथा आधिकारिक उत्पादन अनलाइनबाटै हेर्न तथा खरिद गर्न सक्नेछन्।
ब्रान्डहाउसको अनलाइन पसलमा एडिडास, रिबोक, एसिक्स, अन्डर आर्मर, न्यु एरा, लेभाइज र याज्जी लगायतका ब्रान्डका खेलकुद पोसाक, जुत्ता, फेसन तथा जीवनशैलीसँग सम्बन्धित सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अनलाइन सेवा सुरु गर्नुको उद्देश्य भौतिक पसलमा सीमित रहेको ग्राहक पहुँचलाई डिजिटल माध्यमबाट थप विस्तार गर्नु हो। एउटै माध्यमबाट विभिन्न ब्रान्डका सामग्री उपलब्ध गराएर ग्राहकलाई आफूले चाहेको सामान खोज्न र खरिद गर्न सहज बनाउने कम्पनीको भनाइ छ।

३१ वर्षदेखि व्यवसायमा
ब्रान्डहाउस नेपालले खुद्रा व्यापार तथा ब्रान्ड व्यवस्थापनको क्षेत्रमा ३१ वर्षदेखि काम गर्दै आएको जनाएको छ। काठमाडौंमा मुख्य कार्यालय रहेको कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै नेपालमा खेलकुद, फेसन, जुत्ता तथा जीवनशैलीसँग सम्बन्धित सामग्री बिक्री गर्दै आएको छ।
कम्पनीका अनुसार ब्रान्डहाउसका आठवटा आफ्नै पसल तथा विभिन्न ब्रान्डका १० वटा प्रमुख पसल सञ्चालनमा रहेका वा सञ्चालनका लागि योजनामा छन्। आगामी दिनमा थप पसल तथा साझेदारीमा आधारित बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय ब्रान्डका सामान नेपालमा
ब्रान्डहाउसले एडिडास, रिबोक, एसिक्स, नाइकी, अन्डर आर्मर, न्यु एरा, लेभाइज र याज्जी लगायतका ब्रान्डसँग सहकार्य तथा वितरण अधिकार रहेको जनाएको छ।
कम्पनीले नेपालमा मौलिक तथा आधिकारिक ब्रान्डका उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यले भौतिक पसलसँगै अनलाइन व्यापारलाई पनि अघि बढाएको जनाएको छ।
अनलाइन व्यापार सेवाको सुरुवातसँगै ग्राहकले घरबाटै विभिन्न ब्रान्डका उत्पादनबारे जानकारी लिन तथा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।











प्रतिक्रिया