काठमाडौं।
बिराट एग्री लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। त्यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बिराट एग्री र एनआईसी एशिया क्यापिटलबीच सर्वसाधारणमा शेयर निष्कासनसँगै आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो।
इटहरी–१३, सुनसरीमा कार्यालय रहेको बिराट एग्रीले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक रूपमा एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ।
कम्पनीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक माछाको दाना उद्योग सञ्चालन गरिरहेको छ। उक्त उद्योगबाट विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण हुँदै आएको कम्पनीले जनाएको छ।
बिराट एग्रीले सार्वजनिक शेयर निष्कासनबाट प्राप्त हुने पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा लगानी गर्ने योजना बनाएको छ।
कम्पनीले पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादन तयार गर्ने आधुनिक प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ। साथै, माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको थप दाना उद्योग स्थापना गर्ने योजना रहेको जनाएको छ।
कम्पनीका अनुसार आगामी दिनमा माछा उत्पादनदेखि दाना उत्पादन, प्रशोधन, फिलेटिङ, चिस्यान भण्डारण, प्याकेजिङ तथा बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई एउटै एकीकृत व्यावसायिक प्रणालीमा जोडिनेछ।
यसका लागि आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, चिस्यान भण्डारण, प्याकेजिङ र बजार व्यवस्थापनलाई एकीकृत गर्ने योजना कम्पनीले अघि सारेको छ।
कम्पनीले आफ्नो विस्तार योजनाले कृषि तथा मत्स्यपालन क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुर्याउने अपेक्षा गरेको छ।
यसैबीच, एनआईसी एशिया क्यापिटलले कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्नेदेखि साधारण शेयर निष्कासनसम्म आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।











प्रतिक्रिया