सागर डिस्टिलरीले ‘नेप्से बुल्स’ नयाँ स्वरूपमा बजारमा ल्याउँदै


काठमाडौं।

सागर डिस्टिलरीले नेपाली बजारमा आफ्नो चर्चित मदिरा ब्रान्ड ‘नेप्से बुल्स’लाई नयाँ स्वरूपमा पुनः बजारमा ल्याउने भएको छ। कम्पनीले स्कटल्यान्डको ‘रेयर माल्ट’ परम्पराबाट प्रेरित भएर नयाँ संस्करण तयार गरिएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ नेप्से बुल्समा १० वर्ष पुरानो ‘रेयर माल्ट’ प्रयोग गरिएको छ। यो माल्ट स्कटल्यान्डका हाइल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्ट ह्विस्कीको मिश्रण रहेको कम्पनीको दाबी छ। यसमा हाल अस्तित्वमा नरहेको एउटा डिस्टिलरीमा तयार गरिएको ह्विस्कीसमेत समावेश गरिएको जनाइएको छ।

सागर डिस्टिलरीले नयाँ उत्पादनलाई ‘स्कटल्यान्डको रेयर माल्टको उत्कृष्ट अभिव्यक्ति’ भन्ने अवधारणासहित बजारमा ल्याउन लागेको जनाएको छ। कम्पनीका अनुसार यसमा प्रयोग भएको माल्टको कुल उपलब्ध मात्रा केही हजार लिटर मात्र रहेको छ भने त्यसको सानो हिस्सा मात्रै नेप्से बुल्समा प्रयोग गरिएको छ।

कम्पनीले ‘रेयर माल्ट’लाई ह्विस्कीको कानुनी श्रेणी नभई लामो समयदेखि विकसित हुँदै आएको छनोट र उत्पादन परम्पराका रूपमा व्याख्या गरेको छ। ह्विस्कीको उत्पत्ति, मौलिक चरित्र र दुर्लभतालाई यस अवधारणाका प्रमुख आधारका रूपमा लिइने कम्पनीको भनाइ छ।

सागर डिस्टिलरीका अनुसार नेपाली उपभोक्ताको मदिराप्रतिको रुचि र बुझाइमा पछिल्लो समय परिवर्तन आएको छ। विशेषगरी नयाँ पुस्ताका उपभोक्ताले मूल्यसँगै उत्पादनको गुणस्तर, उत्पत्ति र त्यससँग जोडिएको कथामा समेत चासो दिन थालेको कम्पनीको दाबी छ।

यही परिवर्तनलाई ध्यानमा राख्दै नयाँ ब्रान्ड सिर्जना गर्नुको सट्टा नेपाली बजारमा पहिलेदेखि परिचित ‘नेप्से बुल्स’लाई नै नयाँ स्वरूपमा प्रस्तुत गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ संस्करणमार्फत नेपाली ह्विस्की पारखीमाझ उत्पादनको स्वादसँगै त्यसको उत्पत्ति र निर्माण प्रक्रियाबारे थप चासो तथा संवाद सिर्जना गर्ने लक्ष्य राखेको बताएको छ।

सागर डिस्टिलरीका अनुसार नयाँ नेप्से बुल्समा प्रयोग गरिएको दुर्लभ माल्टको विशिष्ट मिश्रणले यसलाई नेपाली बजारमा फरक पहिचान दिने अपेक्षा गरिएको छ।