बैंकक ।
म्यान्मारको रखाइन राज्यमा सेनाले गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
सोमबार क्याउक्ताव टाउनसिपको बजारनजिक लडाकु विमानले दुईवटा बम खसालेको अराकान आर्मी र उद्धार अधिकारीले बताएका छन्। मृतकमध्ये बजारका व्यापारी, ग्राहक तथा सर्वसाधारण रहेको जनाइएको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ।
हमलाबाट बजार क्षेत्रका भवन र सवारीसाधनमा क्षति पुगेको तथा नजिकैको पुलसमेत प्रभावित भएको बताइएको छ। घटनाबारे म्यान्मारको सेनाले तत्काल प्रतिक्रिया दिएको छैन।
क्याउक्ताव क्षेत्र अराकान आर्मीको नियन्त्रणमा रहेको बताइन्छ। यद्यपि, घटनासम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको समाचारमा उल्लेख छ। म्यान्मारमा सन् २०२१ को सैन्य ‘कू’ पछि सेना र विभिन्न विद्रोही समूहबीच सशस्त्र द्वन्द्व जारी छ।











प्रतिक्रिया