होन्डा गाडी किन्दा एनआईसी एशिया बैंकका ग्राहकलाई ५.९९ प्रतिशत स्थिर ब्याजदर


काठमाडौं ।

एनआईसी एशिया बैंकका ग्राहकले होन्डा ब्राण्डका सवारीसाधन खरिद गर्दा आकर्षक ब्याजदर तथा विभिन्न विशेष सुविधा पाउने भएका छन्।

बैंक र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिबीच होन्डा ब्राण्डका सवारीसाधन खरिद गर्ने ग्राहकलाई विशेष कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र स्याकार ट्रेडिङ्गकी प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार परिवर्तनीय ब्याजदरमा सवारीसाधन कर्जा लिन चाहने ग्राहकले औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन्। स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि भने ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।

त्यसैगरी, ग्राहकले प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट पाउनेछन् भने कर्जा प्रक्रिया छिटो र छरितो बनाउने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

उक्त कर्जा सुविधामार्फत एनआईसी एशिया बैंकका ग्राहकले स्याकार ट्रेडिङ्ग कम्पनीले बिक्री गर्दै आएका विभिन्न होन्डा ब्राण्डका सवारीसाधन खरिद गर्न सक्नेछन्।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलका अनुसार यो सुविधाले ग्राहकलाई होन्डाका सवारीसाधन खरिदका लागि थप सहज वित्तीय विकल्प उपलब्ध गराउनेछ।