राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज


काठमाडौँ।

नेपालमा महिला विद्युतीय खेलकुद खेलाडीहरूको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ।

प्रतियोगितामा सहभागी २४ महिला टोलीमध्ये उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। आज हुने फाइनलमा ती १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। महिला विद्युतीय खेलकुदको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा म्याक्स टाइगर ऊर्जा पेयको सहकार्य रहेको छ। आयोजकका अनुसार म्याक्स टाइगरको ऊर्जाले फाइनलको उत्साह, जोश र प्रतिस्पर्धात्मक वातावरणलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

नेपालमा महिला विद्युतीय खेलकुद खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्नुका साथै उनीहरूलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।