काठमाडौँ ।
बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालन गरिएको निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सम्पन्न भएको छ।
भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको शिविरबाट ६७५ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गरिएको थियो।
शिविरका क्रममा १२० जनाको अल्ट्रासाउन्ड परीक्षणसमेत गरिएको आयोजकले जनाएको छ। स्थानीय तथा विपद् प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण र उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो।

थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि गरिएको थियो। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको आर्या फार्माल्याबले जनाएको छ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि आवश्यकताअनुसार स्वास्थ्य सेवा तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
यसअघि आर्या फार्माल्याबले विपद् प्रभावित नागरिकका लागि ८२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका औषधिजन्य सामग्री सहयोगस्वरूप नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।











प्रतिक्रिया