ह्वाइट हाउस प्रवेश रोकिएपछि तीन अमेरिकी मिडिया अदालतमा


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएन, पोलिटिको र एमएस नाउले सरकारविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन्।

ती सञ्चारमाध्यमले वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूमाथिको प्रतिबन्ध असंवैधानिक भएको दाबी गरेका छन्। सरकारले आफूलाई मन नपरेको समाचार प्रकाशित गरेको आधारमा पत्रकारको पहुँच खोस्न नहुने उनीहरूको भनाइ छ।

यसैबीच, एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले ह्वाइट हाउसको टेलिभिजन प्रेस पूलबाट पछि हट्ने घोषणा गरेका छन्। उनीहरूले स्वतन्त्र र सही सूचना प्राप्त गर्नु जनताको अधिकार भएको बताएका छन्।

ट्रम्पले भने ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘झुटा तथा काल्पनिक’ समाचार प्रकाशित गरेको आरोप लगाउँदै प्रतिबन्धलाई उचित ठहराएका छन्। ह्वाइट हाउस र सञ्चारमाध्यमबीचको विवाद यसअघि पनि प्रेस पूलको व्यवस्थापन तथा समाचारमा प्रयोग गरिएका शब्दलाई लिएर हुँदै आएको थियो।