नेशनल लाईफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै दियो सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षण


भैरहवा ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताको सम्मान तथा सदस्यता वितरण गर्ने उद्देश्यले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा वार्षिक चेयरपर्सन क्लब कार्यक्रम आयोजना गरेको हो । दुई रात तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख, मार्केटिङ कर्मचारी तथा देशभरबाट छनोट भएका अभिकर्तासहित ५६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवात हालै भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो ।

कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा उहाँले अभिकर्ता कम्पनीको मेरुदण्ड भएकाले उनीहरूको सीप, क्षमता र व्यावसायिकता अभिवृद्धिमा कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने बताउनुभयो । अभिकर्ता सञ्जालमा नेतृत्व विकासलाई महत्वपूर्ण विषयका रूपमा लिँदै यस क्षेत्रमा कम्पनीले आवश्यक लगानी गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यावसायिक उपलब्धि समग्र नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताउनुभयो । नयाँ आर्थिक वर्षसँगै स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ कम्पनी अघि बढिरहेको उल्लेख गर्दै उहाँले अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने र ग्राहक सेवाको गुणस्तर सुधारमा जोड दिइएको बताउनुभयो ।

कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै नेपालभर आफ्नो कोड तथा सञ्जालको व्यवसायमा प्रथम, द्वितीय र तृतीय हुने तथा समूहगत व्यवसायमा प्रथम हुने अभिकर्तालाई सम्मान गरिएको थियो । त्यस्तै, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तासहित उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई चेयरपर्सन सिंहले विशेष सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी अभिकर्ताको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरण गर्ने गतिविधि हुन सक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालनामा बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत र सजग हुनुपर्ने बताउनुभयो ।

प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे प्रशिक्षण दिँदै बीमा व्यवसायमा एआई प्रविधिलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने सम्भावनाबारे जानकारी गराउनुभयो । उहाँले ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको प्रयोग गर्न सकिने बताउनुभयो ।

त्यस्तै, प्रशिक्षक संजोग कोइरालाले डिजिटल युगमा डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तारमा महत्वपूर्ण लाभ लिन सकिने बताउनुभयो । डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै सत्यतथ्य सूचना र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भ्रामक समाचार, गलत सूचना वा गलत भाष्य सिर्जना गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने भएकाले विशेष सजग रहनुपर्ने उहाँको भनाइ थियो ।

चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताले वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यावसायिक प्रदर्शन आवश्यक पर्ने भएकाले कार्यक्रममा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए । वर्षभर गरेको मेहनतको परिणामस्वरूप प्राप्त सम्मानले आफ्नो परिश्रमलाई थप सार्थक बनाएको उनीहरूको भनाइ थियो ।