सामसङको ग्यालेक्सी एस२६ एफई नेपालमा सार्वजनिक


काठमाडौं ।

सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफई नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ फोन ‘वान यूआई ९’ सहित बजारमा आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन हो।

ग्यालेक्सी एस२६ एफईमा सुधारिएको तीन क्यामेरासहितको पछाडिको क्यामेरा प्रणाली, ३ गुणा अप्टिकल जुम, नाइटोग्राफी तथा सुपर स्टेडी जस्ता सुविधा उपलब्ध छन्। कम्पनीका अनुसार यी सुविधाले कम प्रकाशमा समेत स्पष्ट तस्बिर खिच्न तथा चलायमान दृश्यको भिडियो स्थिर रूपमा खिच्न सहयोग गर्नेछन्।

फोनमा नयाँ ‘माइ फ्यानक्याम’ सुविधा पनि समावेश गरिएको छ। यसले भिडियो खिच्ने क्रममा छनोट गरिएको व्यक्तिलाई स्वचालित रूपमा पछ्याउँदै दृश्यको बीचमा राख्ने कम्पनीले जनाएको छ। त्यस्तै, ‘होरिजोन्टल लक’ सहितको सुपर स्टेडी सुविधाले तीव्र गतिका गतिविधिको भिडियो खिच्दा दृश्यलाई स्थिर र सीधा राख्न सहयोग गर्नेछ।

कृत्रिम बौद्धिकतामा आधारित सुविधा

ग्यालेक्सी एस२६ एफईमा दैनिक कामलाई सहज बनाउने विभिन्न कृत्रिम बौद्धिकता अर्थात् एआई सुविधासमेत उपलब्ध छन्। नयाँ ‘वान यूआई ९’ मार्फत प्रयोगकर्ताको दैनिक आवश्यकता र दिनचर्याअनुसार आवश्यक जानकारी उपलब्ध गराउने तथा कामलाई व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।

ग्यालेक्सी एस२५ सिरिजमा प्रस्तुत गरिएको ‘नाउ ब्रीफ’ सुविधालाई पनि थप व्यक्तिगत बनाइएको सामसङले जनाएको छ। प्रयोगकर्ताले मौसम, स्वास्थ्यलगायत आफूलाई आवश्यक जानकारीका ब्रीफिङ कार्ड छनोट गर्न सक्नेछन्। सामान्य निर्देशनमार्फत आफ्नै कार्डसमेत बनाउन सकिने कम्पनीले जनाएको छ।

मूल्य र उपलब्धता
ग्यालेक्सी एस२६ एफईको ८ जीबी र्‍याम तथा २५६ जीबी भण्डारण क्षमताको मोडलको नेपाली बजार मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

फोन पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रंगमा उपलब्ध हुनेछ।

सामसङले फोन खरिद गर्ने ग्राहकका लागि विभिन्न योजना पनि सार्वजनिक गरेको छ। ग्राहकले पुरानो फोन साट्दा ८ हजार रुपैयाँसम्म थप सट्टापट्टा बोनस पाउनेछन्।

त्यस्तै, ग्राहकले ६ महिनाका लागि गुगल एआई प्रो सदस्यता निःशुल्क प्राप्त गर्नेछन्। कम्पनीका अनुसार उक्त सदस्यताको मूल्य १८ हजार ३५१ रुपैयाँ बराबर रहेको छ।

ग्राहकले २४ महिनासम्मको सहज किस्ताबन्दी सुविधा पनि लिन सक्नेछन्। २४ महिनाको मासिक किस्ता ३ हजार २५६ रुपैयाँ बाट सुरु हुनेछ भने १२ महिनाको किस्ता ६ हजार रुपैयाँ बाट सुरु हुने कम्पनीले जनाएको छ।

सामसङ नेपालका वरिष्ठ निर्देशक तथा मोबाइल अनुभव विभागका प्रमुख प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा उपयोगी हुने सुविधालाई केन्द्रमा राखेर डिजाइन गरिएको बताएका छन्।

उनका अनुसार नयाँ फोनमार्फत ग्यालेक्सी एस सिरिजका विशेष सुविधालाई थप ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।