एनसेल र नाटोबीच साझेदारी, पर्यटकको दूरसञ्चार पहुँच सहज हुने


काठमाडौँ।

एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीअन्तर्गत एनसेलले पर्यटकलाई मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले आफ्ना देशभरका ट्राभल अपरेटरको सञ्जालमार्फत एनसेलका सेवा तथा सुविधाबारे पर्यटकलाई जानकारी दिनेछ ।

दत्ताले एनसेलको देशव्यापी नेटवर्क र नाटोको पर्यटन क्षेत्रको पहुँचलाई उपयोग गर्दै सहकार्यले पर्यटकको यात्रा अनुभव सहज बनाउने बताए ।

उनका अनुसार यसले ‘नेपाल कलिङ’ अभियान प्रवद्र्धन गर्नुका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ। श्रेष्ठले नेपाल आउने यात्रुलाई यात्राभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन सहकार्यले सहज बनाउने बताए।

सहकार्यअन्तर्गत एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापनामा नाटोलाई सहयोग गर्नेछ। यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिने जनाइएको छ।