सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक


काठमाडौं ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा नयाँ जीवन बीमा योजना ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ।

कम्पनीले असोज १ गते आयोजना गरेको प्रडक्ट इन्ग्युरेसन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालसहित उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा नयाँ बीमा योजना शुभारम्भ गरेको हो।

कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी ल्याइएको यस योजनाले तुलनात्मक रूपमा कम लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्य राखेको छ। विशेषगरी युवा उमेरका परिवारका संरक्षकलाई व्यावसायिक तथा पारिवारिक दायित्वबीच आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

१० लाखदेखि बीमाङ्क छनोट गर्न सकिने

‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि बीमितको आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क रकम छनोट गर्न सकिने कम्पनीले जनाएको छ।

बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ।

बीमा अवधिमा बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत रकम दाबी भुक्तानी गरिने कम्पनीको भनाइ छ।

योजनामा ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च तथा १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि उपलब्ध हुने बताइएको छ।

शाखा तथा डिजिटल माध्यमबाट खरिद गर्न सकिने

कम्पनीका अनुसार यो बीमा योजना देशभर रहेका सन नेपाल लाइफका शाखा तथा उपशाखाबाट खरिद गर्न सकिनेछ। साथै, ग्राहकले डिजिटल माध्यमबाट पनि योजना खरिद गर्न सक्नेछन्।

डिजिटल खरिदका लागि कम्पनीको वेबसाइट तथा Sun Connect प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

१३६ शाखा तथा उपशाखाबाट सेवा

सन नेपाल लाइफ इन्स्योरेन्सले २०७४ असोज ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको हो। कम्पनीका अनुसार यसको अधिकृत पूँजी १० अर्ब रुपैयाँ र चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ।

कम्पनीले हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

ISO 27001:2022 प्रमाणित कम्पनीले आफूलाई डिजिटल प्रविधिमा आधारित जीवन बीमा सेवामा केन्द्रित कम्पनीका रूपमा अघि बढाउँदै आएको जनाएको छ। दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।